जडिबुटी, कृषि तथा खानीजन्य बस्तु चीनतर्फ निर्यात गर्न सकिन्छ: कार्यवाहक राष्ट्रपति पुन

0
Shares

कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले चीनतर्फ नेपालको निकासी व्यापारले अपेक्षााकृत गति लिन नसकेको बताएका छन । उनले चीनसँगको सुमधुर राजनीतिक सम्बन्धका बाबजुद नेपालले आर्थिक सम्बन्ध विस्तार गर्न नसकेको तर्क गरेका हुन ।

नेपाल–चीन व्यापारिक सम्झौता अनुसार चीनले प्रदान गरेका सुविधा उपयोग गर्दै नेपाली वस्तुको निकासी बढाउनुपर्नेमा उनले जोड दिए । नेपाल चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभामा बोल्दै कार्यवाहक राष्ट्रपति पुनले नेपालका कृषिजन्य उत्पादन, जडिबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने सम्भावना रहेको बताए ।

“हामीले चिनियाँ बजारको अध्ययन गरी त्यहाँका उपभोक्ताको रुचिलाई मध्यनजर गर्दै नेपाली बस्तु निकासी गर्न सक्नुपर्छ,” उनले भने,“ यसका लागि नेपाल चीन उद्योग वाणिज्य संघ लगायतका संस्थाहरुले समन्वय र सहकार्य गर्नु आवश्यक छ ।” चिनियाँ बजारमा नेपालले आफ्ना मौलिक उत्पादनहरु निर्यातको अवसर पाउँदा देशको अर्थतन्त्रको तस्बिर नै बदलिन सक्ने उनको भनाइ छ । नेपाली वस्तु निकासी गर्दा कच्चा पदार्थको प्रशोधन गरी पूर्ण रुपमा तयारी बस्तुमात्र निकासी गर्नुपर्ने धारणा उनले राखेका थिए ।

नेपालका लागि चिनियाँ दूतावासका चार्ज डे अफेयर्स वाङ सिनले दुवै मुलुकबीच रहेको पुरानो सम्बन्धलाई अब व्यापार व्यवसायका माध्यमले थप बलियो बनाउनुपर्ने बताए ।

कार्यक्रममा चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)का अध्यक्ष रेन होङबिनले कोभिड महामारीका कारण द्विपक्षीय व्यापारमा कमी आएको उल्लेख गर्दै आउँदा दिनमा पुरानै अवस्थामा फर्कने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनसँगको वार्षिक व्यापारघाटा २ खर्ब ६३ अर्ब रुपैयाँ पुग्नुमा कोभिड महामारी, उत्तरी नाकाको कमजोर पूर्वाधारसँगै विश्वव्यापी आर्थिक मन्दी लगायतका कारणहरु रहेको बताए । कोभिड महामारीपछि चीनमा ठूला व्यापारिक मेला हुन नसक्नु र नेपाली व्यवसायीले पहिले जसरी खुला रुपमा भ्रमण गर्न नसक्नेजस्ता कारणले निकासी व्यापार प्रभावित भएको उनको भनाइ छ ।

नेपाल र चीनबीच रहेका मुख्य दुई नाका तातोपानी र केरुङमा लागू भएको कोटा प्रणाली अन्त्य भइ पूर्ण क्षमतामा सञ्चालन हुनुपर्ने तथा चीनका विभिन्न गन्तव्यमा सीधा उडान गर्दै एयर कनेक्टिभिटी बढाउनु पर्ने माग संघले गर्दै आएको छ । संघले चीन र नेपालबीच रहेको भुक्तानीमा अवरोध हटाउन माग गरेको छ ।

चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्बन्धमा नेपालका प्रधानमन्त्रीको हरेक पटकको चीन भ्रमणमा द्विपक्षीय सहमति हुँदै आए पनि अहिलेसम्म यो कार्यान्वयन हुन नसकेको अध्यक्ष तुलाधर बताए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७९, बिहिबार  १८ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।