अम्बे स्टील्सको आम्दानी १७ प्रतिशतले बढ्यो, वर्षमा ११ अर्बको कारोबार

0
Shares

फलाम तथा स्टील उद्योगहरुमा अग्रणी स्थानमा रहेको अम्बे स्टील्सको आम्दानी सन् २०२२ मा १७ प्रतिशतले बढेको छ ।

सन् २०२२ मा कम्पनीको सञ्चालन आम्दानी १० अर्ब ९३ करोड ३० लाख (अपरिष्कृत) रहेको छ । यस अघि सन् २०२१ मा कम्पनीको सञ्चालन आम्दानी (परिष्कृत) ९ अर्ब २८ करोड ४० लाख रहेको थियो ।

सन् २००९मा स्थापना भएको अम्बे स्टील्सले मुख्यतया टीएमटी छडको बिक्री गर्दै आएको छ । सन् २०२२ मा आर्जन गरेको कुल सञ्चालन आम्दानीमा उद्योगले ८२ प्रतिशत आम्दानी टिएमटी छडबाट गरेको छ।

पछिल्ला ३/४ वर्षमा नेपालमा टीएमटी छड उत्पादन गर्ने उद्योगहरुको सङ्ख्या उल्लेख्य रुपमा बढेको छ । सञ्चालनमा रहेका कम्पनीहरुले पनि क्षमता वृद्धि गरी उत्पादन बढाएका छन् । तर अम्बे स्टील्सले छड उत्पादन गर्न सक्ने क्षमताको पनि उपयोग गरेको छैन । बढ्दो प्रतिस्पर्धाबीच अम्बे स्टील्सले उत्पादन पनि कम गर्दै गएपछि उद्योगका वित्तीय सूचकहरु कमजोर सावित भएका छन्।

यसैगरी अन्य उद्योगहरुले फलाम तथा स्टीलबाट निर्माण गर्न सक्ने सामाग्रीहरुको उत्पादन तथा विस्तार बढाइरहेको समयमा अम्बे स्टील्स टीएमटी छडमा मात्रै केन्द्रीत रहँदा वित्तीय सूचकहरु कमजोर देखिएका छन्।

प्रतिवर्ष ८० हजार टीएमटी छड उत्पादन गर्ने क्षमता रहेको अम्बे स्टील्सले कच्चा पदार्थ भारतबाट आयात गर्ने गरेको छ । अन्तराष्ट्रिय विनिमय बजारमा नेपाली रुपैयाँ कमजोर हुँदा कच्चा पदार्थ आयातमा समस्या हुनु जस्ता चुनौतीको सामना अम्बे स्टील्सले गरिरहेको छ।

उद्योगले कुल ४ अर्ब ५२ करोड १० लाखको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ एजेनसी इक्राबाट ए४ र डबल बी रेटिङ पाएको छ । उद्योगको सञ्चालन आम्दानी र वित्तीय सूचांकहरुमा आएको गिरावटलाई अध्ययन गरी इक्राले यस अघि गरेको रेटिङको तुलनामा यो वर्षको रेटिङमा गिरावट आएको जनाएको छ ।

यस अघिको ४ अर्ब ५२ करोड १० लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि इक्राले डबल बी माइन्स र ए४ प्लस रेटिङ गरेको थियो । तर अहिले दीर्घकालीन कर्जाका लागि डबल बी र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

अम्बे स्टील्सको प्रमोटर प्रसिद्ध व्यापारिक घराना अम्बे ग्रुप रहेको छ । उद्योगमा न्यौपाने, अग्रवाल र पौडेल परिवारको लगानी रहेको छ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।