नेको इन्स्योरेन्सले आजदेखि कोरोना बीमा दाबी भुक्तानी गर्ने, कुन कम्पनीको कति छ बाँकी रकम ?

0
Shares

नेको इन्स्योरेन्स कम्पनीले आज (शुक्रबार) देखि कोरोना बीमा दाबी भुक्तानी गर्ने भएको छ ।

अर्थमन्त्रालयको निर्देशन बमोजिम कम्पनीले पहिलो चरणमा व्यक्तिगत रुपमा बीमा गरेका बीमितको दाबी भुक्तानी गर्न लागेको हो । आवश्यक सबै कागजपत्र तयार भएमा शुक्रबार देखि नै भुक्तानी गर्न शुरु गर्ने नेको इन्स्योरेन्सका एक अधिकारीले जानकारी दिए ।

निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको कोरोना बीमा दाबी रकममध्ये सरकारले आफनो दायित्वमध्येको एक अर्ब रुपैयाँ कम्पनीहरुलाई हस्तान्तरण गरेको छ ।

बीमा प्राधिकरणकोको प्रस्ताव अनुसार सरकारले भुक्तानी गरेको रकमलाई ५५ प्रतिशत मानिएको छ । बाँकी ४५ प्रतिशत रकम बीमा प्राधिकरण, नेपाल पुर्नबीमा, निर्जीवन बीमा कम्पनीबाट संकलन गरेको छ ।

४५ प्रतिशत रकममध्ये बीमा प्राधिकरणको हकमा ८ प्रतिशत रकम अर्थात् १४ करोड ५४ लाख रुपैयाँ परेको छ । प्राधिकरणले आफनो हिस्साको रकम नेपाल बीमक संघलाई भुक्तानी गरि सकेको छ ।

नेपाल पुर्नबीमा कम्पनीको हकमा १२ प्रतिशत अर्थात् २१ करोड ८१ लाख रुपैयाँ परेको छ । निर्जीवन बीमा कम्पनीको हकमा भने २५ प्रतिशत अर्थात् ४५ करोड ४५ लाख रुपैयाँ परेको छ ।

कोरोना बीमा दाबी बापतको १० अर्ब ५२ करोड भुक्तानी हुन बाँकी

बीमा कम्पनीहरुमा परेको कोरोना बीमाको १० अर्ब ५२ करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । बीमा कम्पनीहरुले २०७८ साउन देखि कोरोना बीमा दाबी भुक्तानी वितरण गर्न बन्द गरेका छन् ।

सरकारले आफनो दायित्व नव्यहोरेको भन्दै कम्पनीहरुले दाबी भुक्तानी नै बन्द गरेका हुन् । बीमा प्राधिकरणकोे तथ्यांक अनुसार एक लाख ११ हजार ८९९ वटा पोलिसीको दाबी भुक्तानी भएको छैन । सो पोलिसी मार्फत १० अर्ब ५२ करोड रुपैयाँ दाबी परेको प्राधिकरणको तथ्यांक छ ।

निर्जीवन बीमा कम्पनीहरुमा एक लाख ६२ हजार ३४६ वटा कोरोना बीमा पोलिसीको दाबी परेको थियो । जसमध्ये कम्पनीहरुले हालसम्म ५० हजार ४४७ वटा पोलिसीको मात्रै दाबी भुक्तानी गरेका छन् । एक लाख ११ हजार ८९९ वटा पोलिसीको अझै भुक्तानी भएको छैन । कम्पनीहरुमा १५ अर्ब ३५ करोड ६८ लाख रुपैयाँ बराबरको दाबी परेको थियो । जसमध्ये हालसम्म चार अर्ब ८३ लाख ३५ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ । १० अर्ब ५२ करोड ३२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । त्यस्तै नेपाल सरकारबाट दाबी भुक्तान रकम प्राप्त हुने भनी कम्पनीहरुले एक अर्ब ३९ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार राष्ट्रिय बीमा कम्पनीमा ५१ हजार १२२ वटा दाबी परेको छ । जसमध्ये ४१ हजार ३२८ वटा पोलिसीको भने अझै दाबी भएको छैन । शिखर इन्स्योरेन्समा २० हजार ८२९ वटा दाबी परेको थियो । जसमध्ये १३ हजार ४७५ दाबीको भुक्तानी भएको छैन ।नेको इन्स्योरेन्समा ८ हजार ७५६ वटा दाबी परेको थियो । जसमध्ये ६ हजार ८३१ वटा पोलिसी बापतको ६५ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।