नेपाल पुनर्बीमा कम्पनीलाई कारवाही गर्ने बीमा प्राधिकरणको चेतावनी

0
Shares

कोरोना बीमा दाबी भुक्तानी रकम थप नगर्ने नेपाल पुनर्बीमा कम्पनीको निर्णयलाई ७ दिन भित्रमा सच्याउन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणको आदेश बमोजिम निर्णय नसच्याएमा कारवाही गरिने प्राधिकरणले चेतावनी दिएको छ ।

कोरोना दाबी रकममध्ये बाँकी रहेको रकम भुक्तानीका लागि अर्थमन्त्रालयले गत महिना एक अर्ब रुपैयाँ निकासा गरेको छ ।

बीमा प्राधिकरणको प्रस्ताव अनुसार सो रकमलाई ५५ प्रतिशत मानिएको छ भने बाँकी रहेको ४५ प्रतिशत प्राधिकरण, नेपाल पुर्नबिमा कम्पनी र बिमा कम्पनीहरुबाट संकलन गर्ने निर्णय भएको थियो । सोही निर्णय बमोजिम नेपाल पुर्नबिमा कम्पनीको हिस्सामा १२ प्रतिशत अर्थात् २१ करोड ८१ लाख रुपैयाँ परेको छ।

तर, नेपाल पुनर्बीमा कम्पनीले यस अघि नै आफनो हिस्साको एक अर्ब २० करोड रुपैयाँ भुक्तानी गरि सकेको जनाउँदै थप रकम भुक्तानी गर्नु नपर्ने भन्दै प्राधिकरणलाई पत्राचार गरेको थियो । प्राधिकरणले भने कोरोना बीमा दाबी रकम भुक्तानी नगर्दा आम मानिसमा बीमा प्रतिको विश्वसनीयता गुम्दै गएको परिप्रेक्ष्यमा कोरोना बीमा मापदण्ड बमोजिम सबै निकायको दायित्व रहेको बताएको छ ।

सरोकारवाला निकायमध्ये नेपाल सरकार, बीमा प्राधिकरण र बीमा कम्पनीहरुले रकम थप गरि सकेको अवस्थामा नेपाल पुर्नबीमा कम्पनीले थप रकम भुक्तानी गर्नु नपर्ने भन्ने निर्णय गैरजिम्मेवारपूर्ण रहेको बताएको छ ।

भुक्तानीको जिम्मेवारी नलिएमा बीमा ऐन २०७९ को दफा १२३ र १२४ बमोजिम प्राधिकरणको निर्देशन पालना नगरेकोमा कारवाही गरिने चेतावनी दिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।