सङ्खुवासभाका दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाका तीन मतदानस्थलका मतपेटिका हेलिकप्टरमार्फत ल्याइएको छ ।
चीनको सीमावर्ती किमाथाङ्का, थुदाम र रिदाक मतदान केन्द्रका मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो । भौगोलिकरुपमा विकट र दुर्गम मानिएको भोटखोला गाउँपालिकाको दूधपोखरी आधारभूत विद्यालय थुदाम, हिमालय आधारभूत विद्यालय किमाथाङ्का र ज्योति आधारभूत विद्यालय रिदाकसहित तीन मतदान केन्द्रको मतपेटिका आज दिउँसो हेलिकप्टरमार्फत ल्याइएको सहायक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटाले जानकारी दिए ।
तीन दिनसम्म पैदल हिँडाएर मतपेटिका सदरमुकाम खाँदबारी ल्याउनुपर्ने भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको हो ।
थुदाम मतदान केन्द्रको २० मत, किमाथाङ्काको एक सय ४८ र रिदाक मतदान केन्द्रमा खसेको मत पेटिकालाई खाँदबारी ल्याइएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक सय ६४ मतदान केन्द्रमध्ये एक सय पाँच केन्द्रको मतपेटिका सदरमुकाम खाँदबारीमा सङ्कलन भइसकेको छ ।
सबै मतदान केन्द्रको मतपेटिका आइसकेपछि मतगणना आजैदेखि गरिनेछ । सङ्खुवासभामा ५६ प्रतिशत अर्थात् ६५ हजार आठ सय ९२ मत खसेको थियो । सङ्खुवासभामा एक लाख १७ हजार पाँच सय ५४ मतदाता रहेका छन् ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया