सुरक्षित लगानीमा नै केन्द्रित जीवन बीमा कम्पनी, ७७% हिस्सा मुद्धती निक्षेपमा

0
Shares

जीवन बीमा कम्पनीहरु अझै पनि लगानीको लागि सुरक्षित क्षेत्रमा नै केन्द्रित भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले आफनो लगानीको अधिकांश हिस्सा बैक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा नै लगानी गरेका छन् ।

चालु आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिमा जीवन बीमा कम्पनीहरुले बैक तथा वित्तिय संस्थाको मुद्धती निक्षेपमा मात्रै तीन खर्ब ८४ अर्ब रुपैयाँ लगानी गरेका छन् । यो रकम कम्पनीहरुले लगानी गरेको कुल रकमको ७७ प्रतिशत हो । सो अवधिमा जीवन बीमा कम्पनीहरुले चार खर्ब ९७ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

बैंक तथा वित्तिय संस्थामध्ये कम्पनीहरुले बाणिज्य बैंकको मुद्धती निक्षेपमा तीन खर्ब ३५ अर्ब रुपैयाँ लगानी गरेका छन् । यो रकम कम्पनीहरुले गरेको कुल लगानीको ६७ प्रतिशत हो । नेपाल बीमा प्राधिकरणले सो क्षेत्रमा कम्पनीहरुले न्यूनत्तम ४० प्रतिशतसम्म लगानी गर्न पाउँने व्यवस्था गरेको छ ।

विकास बैंकको मुद्धती निक्षेपमा ४३ अर्ब १२ करोड र वित्तिय संस्थाको मुद्धती निक्षेपमा पाँच अर्ब ४७ करोड रुपैयाँ लगानी गरेका छन् । त्यस्तै, जीवन बीमा कम्पनीले पूर्वाधार विकास बैंकको मुद्धती निक्षेपमा २५ करोड रुपैयाँ लगानी गरेका छन् । नेपाल पूर्वाधार विकास बैंकमा भने पाँच वटा बीमा कम्पनीहरुले मात्रै लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरुले बीमितहरुबाट संकलन गरिएको रकमलाई विभिन्न क्षेत्रमा लगानी गर्छन । यसरी लगानी गरिएको रकमबाट मुनाफा आर्जन गरी लगानीकर्ता तथा बीमितहरुलाई बोनश वितरण गर्छन । यसका लागि नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई लगानीको क्षेत्र र सिमा निर्धारण गरिदिएको छ । तर, कम्पनीहरुमा लगानीको लागि बैक तथा वित्तिय संस्थाको मुद्धती निक्षेपमा नै केन्द्रित हुने गरेका छन् ।

प्राधिकरणले नेपाल सरकारको बचतपत्रमा कम्पनीहरुलाई लगानी गर्न अनिवार्य गरेको छ । कम्पनीहरुलाई कुल लगानीको न्यूनत्तम ५ प्रतिशत लगानी गर्न प्राधिकरणले निर्देशन दिएको छ । तर, कम्पनीहरुले सो क्षेत्रमा एक प्रतिशत पनि लगानी गरेका छैनन् । चालु आवको पहिलो त्रैमास अवधिमा जम्मा पाँच वटा कम्पनीले मात्रै सरकारको बचतपत्रमा लगानी गरेका छन् । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै घरजग्गामा लगानी गरेको छ ।

त्यस्तै, कम्पनीहरुले सुचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा नौ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेका छन् । बैक तथा वित्तिय संस्थाको अग्राधिकार सेयरमा ३१ अर्ब ७४ करोड रुपैयाँ लगानी गरेका छन् । सुचीकृत पब्लिक कम्पनीको सुरक्षित डिवेन्चरमा २२ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेका छन् । कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा ७ अर्ब १९ करोड रुपैयाँ लगानी भएको छ । म्युचअल फन्ड र नागरिक लगानी कोषमा एक अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।