सेयर बजार दोहोरो अंकले बढ्यो, शाइन रेसुङ्गाको उच्च कारोबार

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन पछिका दुई कारोबार दिन नै बजार सूचक घटेकोमा तेस्रो दिनमा आएर ११.५६ अंकको वृद्धि आएको हो । यसअघि मंगलबार ७.१३ र बुधबार ७.७२ अंकले नेप्से घटेको थियो । 

बिहीबार नेप्से ०.६० प्रतिशतले बढेर १९३३.५५ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.०२ अंकले बढेर ३८०.९२ बिन्दुमा पुगेको छ ।

आज कुल २३२ वटा कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ९२ करोड ५१ लाख ७४ हजार रूपैयाँमा समेटिएको छ । बुधबारको तुलनामा कारोबार रकम १० करोडले घटेको हो । बुधबार १ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबार भएका कुल १३ उपसमूहगत सूचकमध्ये १२ वटा बढेका छन् । निर्जीवन बीमाको सूचक मात्रै घटेको छ ।

आकर्षक लाभांश प्रस्तावले बिहीबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको सर्वाधिक ७ करोड ६२ लाख ४८ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो आवमा साढे ११ प्रतिशत लाभांश बाँडेको बैंकले गत आवबाट कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै हिमालयन डिष्टिलरीको ६.८० करोड, एनआईसी एशिया बैंक २.९३ करोड, नेष्डो समृद्ध लघुवित्त २.८१ करोड, नबिल बैंक २.७० करोड, घलेम्दी हाइड्रोपावर २.६० करोड, एभरेष्ट बैंक २.५५ करोड, शिवम् सिमेन्टस् २.२० करोड, गोर्खाज फाइनान्स १.९८ करोड र ङादी ग्रुप पावरको १.८४ करोडको सेयर खरिद बिक्री भएको छ ।

आजको बजारमा घलेम्दी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ६.८३ प्रतिशतले बढेको छ । हाइड्रोपावरको सेयरमूल्य १४ रुपैयाँ बढेर २१९ रूपैयाँ पुगेको छ । यस्तै आरएमडिसी लघुवित्तको ६ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४.८९ प्रतिशत, साना किसान लघुवित्त ४.८१ प्रतिशत र सिनर्जी पावर डेभलपमेन्टको ४.६५ प्रतिशतले बढेको छ । समृद्धि फाइनान्स, एनएमबि–५०, प्रभु सेलेक्ट फन्ड, नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड कम्पनी र पोखरा फाइनान्स शीर्ष सेयरमूल्य बढ्ने दश कम्पनीमा समेटिएको छ ।

उता आजको बजारमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरधनीले सर्वाधिक २.८९ प्रतिशतले गुमाएका छन् । लघुवित्तको सेयरमूल्य २३.४० रुपैयाँले घटेर ७८५.१० रूपैयाँमा झरेको छ । सिटिजन्स म्युचुअल फन्ड–२ को २.०८ प्रतिशत, समता घरेलु लघुवित्त १.९७ प्रतिशत, न्यादी हाइड्रोपावर १.९३ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावर १.९१ प्रतिशतले घटेको छ । लक्ष्मी उन्नति कोष, नबिल ब्यालेस्ड फन्ड–२, रसुवागढी हाइड्रोपावर, नबिल इक्वीटी फन्ड र एनएलजी इन्स्योरेन्स शीर्ष गुमाउने दश कम्पनीभित्र समेटिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: ८ मंसिर २०७९, बिहिबार  १५ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।