प्रभु बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी ५ प्रतिशतले बढ्यो


प्रभू बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६२ करोड ८४ खुद नाफा कमाएको छ । गत आर्थिक बर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ५.०१ प्रतिशतले बढेको हो । गत आर्थिक बर्षको यसै अवधिमा बैंकले ५९ करोड ८४ लाख खु्द नाफा गरेको थियो ।

बैंकले पहिलो त्रैमासमा वितरणयोग्य मुनाफा ५५ करोड ५७ लाख रुपैयाँ कमाएको छ । निक्षेप, कर्जा, खुद ब्याज आम्दानीमा आएको सुधारले बैंकको संचालन नाफा समेत बढेको छ । बैंकले यस अवधिमा ८९ करोड ९ लाख संचालन मुनाफा गरेको छ ।

समीक्षा अवधिमा १ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले १ अर्ब ८१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको निक्षेपमा सामान्य सुधार देखिएको छ भने कर्जा विस्तार बढेको छ ।

चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख रहेको बैंकको प्रतिशेयर आम्दानी पनि ५ प्रतिशतले नै बढेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैंया ९२ पैसा रहेकोमा अहिले बढेर २८ रुपैयाँ २७ पैसा कायम भएको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थिर रहेकाले खुद नाफासँगै प्रतिशेयर आम्दानी बढेको देखाइएको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख नै छ । 

गत आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विबरण नै केलाएर हेर्दा भने बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड ३९ लाख ४९ हजार रुपैंया र खुद नाफा ५९ करोड ८४ लाख ३८ हजार रुपैंया खुद नाफा कमाएको उल्लेख छ । यस आधारमा बैंकको प्रतिशेयर आम्दानी २९ रुपैंया ७ पैसा छ । तर चालु आर्थिक वर्षको वित्तीय विबरणमा गत आर्थिक वर्षको पहिलो त्रैमासमा चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैंया देखाइएकाले प्रतिशेयर आम्दानी २६ रुपैंया ९२ पैसा कायम भएको हो ।

बैंकले गत वर्षको फागुन १९ गतेको साधारण सभाबाट ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांस बितरण गरेको थियो । अघिल्लो आर्थिक वर्षमा बितरण गरिएको ८ प्रतिशत बोनसलाई गत आर्थिक वर्षको पहिलो त्रैमासमा पूँजीकरण गरिएकाले चुक्ता पूँजी ८ अर्ब ८९ करोड कायम भएको देखिन्छ । यस आधारमा बैंकको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा बढेको देखिएको हो । 

प्रतिसेयर नेटवर्थ भने ८ रुपैयाँ ११ पैसाले बढेर १६७ रुपैयाँ १२ पैसा कायम भएको छ ।

बैंकको खराब कर्जा केहि बढेको छ । २.५१ प्रतिशत रहेको खराब कर्जा ३.३२ प्रतिशत पुगेको छ । कोषको लागत घटेर ६.१५ प्रतिशत कायम भएको छ । आधार दर ९.२४ प्रतिशत छ ।

बैंकले गत आर्थिक बर्षको नाफाबाट १६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न मंसिर ६ गते बार्षिक साधारणसभा बोलाएको छ भने कार्तिक २६ गते बुक क्लोज मिति तय गरेको छ । जस अनुसार कार्तिक २५ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् । प्रस्तावित बोनस पूँजीकरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ ।