प्राधिकरणले स्थलगत अनुगमनलाई तीव्र बनाएपछि उद्यारो बीमा नियन्त्रणमा

0
Shares

बीमा कम्पनीहरुमा कडा रोगका रुपमा देखिएको उद्यारो बीमा प्रवृतिलाई नेपाल बीमा प्राधिकरणले नियन्त्रण गर्न सफल भएको छ । अहिले कम्पनीहरुमा यस्तो प्रवृति लगभग शून्य मा रहेको प्राधिकरणका एक कर्मचारीले बताए । उनका अनुसार प्राधिकरणले नियमित निगरानी गर्न थालेपछि कम्पनीहरु यसबाट पछि हटेका हुन् ।

बीमा कम्पनीहरुले बीमा पोलिसी जारी गर्ने तर, बीमाशुल्क रकम भुक्तानी नलिने प्रक्रियालाई उद्यारो बीमा भनिन्छ । कम्पनीका कर्मचारी र बीमितको मिलेमत्तो उद्यारो बीमा व्यवसाय निक्कै हुने गर्दथ्यो । कम्पनीहरुले आफ्नो कारोबार परिमाण ठूलो देखाउन पनि यस्तो खालको व्यवसाय गर्दै आएका थिए । तर, यसले कम्पनी सुन्निने मात्रै, बास्तविक रुपमा भने कम्पनी खोक्रो हुने प्राधिकरणका कर्मचारीले बताए ।

कतिपय कम्पनीका कर्मचारी र बीमित बीचको मिलेमतोमा दुर्घटना भै सकेपछि पनि बीमा पोलिसी बिक्री गरेको पाईएको प्राधिकरणका कर्मचारी बताउँछन् । बाढीले निर्माणधिन परियोजना क्षतिग्रस्त भएपछि जलविद्युत परियोजनाको लागि बीमा पोलिसी जारी गरिदिने, सवारी साधन चोरी भै सकेपछि बीमा पोलिसी जारी गर्ने र दाबी गर्ने जस्ता प्रवृति अत्याधिक रहेको प्राधिकरणका कर्मचारीले बताए । तर, प्राधिकरणले स्थलगत अनुगमनलाई तीव्र बनाएपछि कम्पनीहरु उद्यारो बीमाबाट पछि हटेको पाईएको उनले बताए ।

बीमा ऐन बमोजिम कुनै पनि अवस्थामा उद्यारो बीमा पोलिसी जारी गर्न पाइँदैन । बीमितले प्रिमियम रकम भुक्तानी गरेपछि मात्रै पोलिसी एक्टिभ हुनेछ । चेक मार्फत गरिने भुक्तानीको हकमा भने ४८ घण्टाको अवधिलाई मानिन्छ । जस्तै, शुक्रबार बिक्री भएको पोलिसीको प्रिमियम रकम चेक मार्फत भुक्तानी भएको छ भने त्यसलाई आइतबारसम्म साट्नका लागि समय अवधि दिन सकिने ऐनमा व्यवस्था रहेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।