नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले बैंक तथा वित्तीय संस्थालाई विजनेश ठानेर कमाउने सोच बनाएका जो कोहिलाई पनि बैंक छाड्न चेतावनी दिएका छन् ।
सोमबार वर्ल्ड मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स समस्याग्रस्त बाट हटेपछि बनेको समृद्धि फाइनान्सको उद्घाटन गर्दै उनले बैंक तथा वित्तीय संस्थाका संचालकहरुलाई कमाउँछु भन्ने सोच त्याग्न सुझाब दिएका हुन् ।
‘जनताको विश्वासलाई विस्वासघात गर्न नहुने भन्दै कमाउँछु भन्ने सोच बोकेर आएको भए आजै बैंक वित्तीय संस्था छाडिदिनुस्। कमाउने भए आफ्नै ब्यवसाय गर्नु होला।’ गभर्नर नेपालले भने । 
वित्तीय क्षेत्रको विस्वास नघटोस भन्नेमा राष्ट्र बैंक सदैव सचेत रहेको भन्दै राष्ट्र बैंकले देशको हावा पानी, समयकाल भन्दा अन्तराष्ट्रिय विकासक्रमलाई हेरेर आफ्ना नीति निर्देशनहरु परिर्माजन गर्ने गरेको प्रष्ट पारे । बैंक तथा वित्तीय संस्थाको संचालक तथा प्रमुख कार्यकारी अधिकृतको उमेर हद पनि अन्तराष्ट्रिय अभ्यास तथा मापदण्ड अनुसार बनाइएको गभर्नर नेपालको भनाई थियो ।
गभर्नर नेपालले बैंक तथा वित्तीय संस्थाहरुमा नीजिक्षेत्रको लगानी हुने भएपनि यस्ता कम्पनीहरु प्राइभेट कम्पनी हुन नसक्ने भन्दै बैंक तथा वित्तीय संस्थाहरुले जनताको विस्वासको ट्रष्टीको रुपमा काम गर्नुपर्ने धारणा राखे ।
साथै उनले विगतमा केहि बैंक तथा वित्तीय संस्थाका संचालक र व्यवस्थापनले जनताको निक्षेप आफ्नै जस्तै गरेर चलाउँदा समस्या देखा परेको बताए । जनताको पैसा नडुबोस भन्नेमा राष्ट्र बैंक सचेत रहेको भन्दै जनताको निक्षेप डुब्न नदिन र समस्याग्रस्त संस्थाहरुलाई नयाँ व्यवस्थापनसहित पुन संचालनको मौका प्रदान गरिएको पनि उनले प्रष्ट पारे ।
साविकको समस्याग्रस्त वल्र्ड मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले कार्तिक २५ गते सोमबारदेखि नयाँ व्यवस्थापनमा समृद्धि फाइनान्सकोे नामबाट कारोबार सुरु गरेको हो । सो अवसरमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत पुष्पप्रसाद श्रेष्ठले अहिलेको १८ करोड १९ लाख ८० हजार रहेको चुक्ता पूँजी २ बर्षभित्र ८० करोड पुर्याउने जानकारी दिए।










प्रतिक्रिया