पोखरामा ३ अर्ब १० करोड लगानीमा पाँच तारे होटल ‘बाराही सेदी’ निर्माण हुँदै

0
Shares

बाराही सेदी कम्पनीले पोखरामा ३ अर्ब १० करोड लगानीमा पाँच तारे होटल निर्माण गरिरहेकोे छ ।

प्रारम्भिक निर्माण प्रक्रियामा रहेको होटलको सेप्टेम्बर महिना सम्ममा २५ प्रतिशत भौतिक संरचनाको निर्माण र ४४ प्रतिशत वित्तीय कारोबार सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । लगानीको ७५ प्रतिशत हिस्सा कर्जा र २५ प्रतिशत सेयरधनीहरुको सेयर हिस्सा रहेको छ ।

बाराही ब्रान्ड नामबाट बाराही सेदीले पाँच तारे होटलको निर्माण कार्य सुरु गरेको छ । १५० कोठाको उक्त होटलमा १० वटा सुइट, एउटा क्यासिनो र ११ वटा सर्भिस हाउसहरु समेत रहनेछन् । ६३ रोपनी जग्गामा निर्माण हुन लागेको उक्त होटलमा अथिति एकोमोडेसन भवन, लबी, रिपेस्सन, एउटा एक्सक्लुजीब बार, कन्फेरेन्स हल, स्पा, सौना रहेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थलको निकटमा रहेको होटल पोखराकै सेदी हाइटमा निर्माण हुँदै छ ।

अन्तर्राष्ट्रिय विमानस्थल देखि निकट दूरीमा होटल सञ्चालन हुनु, नेपालको पर्यटकीय क्षेत्र नै पोखरा भएका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको रोजाइ र आकर्षणको सहर पोखरा हुनु र पछिल्लो समयमा नेपाल सरकारले नै पर्यटन प्रवद्र्धनमा विभिन्न स्कीमहरु ल्याउनु होटल बाराहीका लागि सुखद रहेको छ ।

तथापि होटल निर्माण परियोजना कर्जामा निर्भर हुँदा र ३५ प्रतिशत इक्युटीको इन्फ्युजन कार्य बाँकी नै रहेका कारण बाराही शेदी कम्पनीलाई होटल निर्माण कार्य सम्पन्न गरी होटल सञ्चालनमा ल्याउन समस्या हुने देखिन्छ । यसैगरी हालको समयमा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभावको समस्या देखा पर्दा कर्जामा निर्भर रहेको होटल निर्माण परियोजना सम्पन्न हुने मै प्रश्न उठेको छ ।

तर पोखरामा होटल व्यवसाय गर्दै आएका र पर्यटन उद्योगमा लामो अनुभव बटुलेका हरि प्रसाद पौडेल होटलको प्रमोटर रहेका छन् । पारिवारिक व्यवसायका रुपमा होटल व्यवसाय सञ्चालन गरेका हरि प्रसाद पौडेलले सन् १९७८ बाट पोखरामा नै चार तारे होटल बाराही सञ्चालन गर्दै आएका छन् ।

होटल निर्माण कार्यका लागि बाराही सेदी कम्पनीले २ अर्ब ३८ करोड बराबरको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्राले २ अर्ब ३ करोड ३० लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी रेटिङ गरेको छ भने ५० करोड बराबरको अल्पकालीन कर्जाका लागि ए-४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।