आइपीओको तयारीमा रहेको सोनापुर सिमेन्टको २ अर्ब ३७ करोडको कारोबार, ट्रिपल बी माइनस रेटिङ प्रदान

0
Shares

सार्वजनिक निष्काशन गर्ने तयारीमा रहेको सोनापुर मिनिरल्सलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ट्रिपल बी माइन्स रेटिङ गरेको छ ।

कम्पनीले प्रिमियम मूल्यमा १ करोड २३ लाख २०० कित्ता सेयरको सार्वजनिक निष्काशन गर्ने तयारी गरिरहेको छ । कम्पनीको आम्दानीमा आएको कमी, कमजोर वित्तीय सूचांकका कारण रेटिङ प्रभावित बनेको छ ।

इन्फोमेरिक्स नेपालका अनुसार सन् २०२२ मा कम्पनीले २ अर्ब ३७ करोड ५० लाख आम्दानी गरेको छ । यस अघि सन् २०२१ मा कम्पनीले २ अर्ब ९२ करोड २० लाख आम्दानी गरेको थियो ।

कम्पनीको आम्दानीमा कमी आएसँगै अन्य वित्तीय सूचांक पनि कमजोर देखिएका छन् । डिप्रिसियसन, अर्मोटाइजेसन, ब्याज र कर अघिको कम्पनीको नाफा कुल सञ्चालन आम्दानीको १८.९८ प्रतिशत रहेको छ । जुन सन् २०२१मा २२.४० प्रतिशत रहेको थियो । यसैगरी कम्पनीका सेयरधनीहरुको सेयर र कर्जाको अनुपात यो वर्ष वृद्धि भई २.१ रहेको छ । सो अनुपात गतवर्ष १.८९ थियो ।

सन् २००८ मा स्थापना भएको सोनापुर मिनिरल्सले सोना सिमेन्ट ब्रान्ड नामबाट ओपिसी सिमेन्ट र सोना श्री ब्रान्ड नामबाट पिपिसी सिमेन्टको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

हाल नेपालमा ६० वटा सिमेन्ट उद्योग र २० वटा क्लिंकर उद्योग रहेका छन् । सिमेन्ट उद्योगहरुबीचको बढ्दो प्रतिस्पर्धा, कच्चा पदार्थको मूल्यमा भएको वृद्धि, वर्षका केही महिनाहरुमा मात्रै निर्माणका काम हुनुले पनि कम्पनीको सञ्चालन आम्दानीमा असर गरेको छ ।

साथै उद्योगको क्षमता विस्तारका लागि प्रति दिन २३०० टन ग्राइन्ड गर्ने ग्राइन्डिङ युनिट र १२५० टन प्रति दिन क्लिंकर उत्पादन गर्ने प्लान्ट जडान गरेको छ । प्लान्ट जडान भएता पनि कम्पनीले क्षमता अनुसारको उत्पादन कार्य अघि नबढाउदा पनि आम्दानी प्रभावित भएको छ ।

तथापि उद्योगको १४ वर्ष लामो सिमेन्ट उत्पादन इतिहास रहेको छ । ३८ वर्ष लामो व्यवसायिक अनुभव बटुलेका रतनलाल तयालको अध्यक्ष रहेका छन् । लामो उत्पादन इतिहास बोकेको कम्पनीले आगामी समयमा विस्तार गरिएको प्लान्टको पूर्ण क्षमता प्रयोगमा ल्याउने र आम्दानीमा सुधार आउने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।