बैंक र फाइनान्सले घटाउँदा विकास बैंकले बढाए ‘मार्जिन लोन’

0
Shares

नेपाल राष्ट्र बैंकको नीति अनुसार वाणिज्य बैंक र फाइनान्स कम्पनीले सेयर धितो कर्जा घटाएको भएपनि विकास बैंकले भने बढाएका छन् । बैंक वित्तीय संस्थाको समग्र सेयर धितो कर्जा घटेको भएपनि विकास बैंकहरुको भने बढेको छ ।

चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा बैंक वित्तीय संस्थाले सेयर धितोमा कुल ७५ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन । यो रकम असोज महिनाको तुलनामा ०.४९ प्रतिशतले मात्र थोरै हो । असोज महिनासम्ममा बैंक वित्तीय संस्थाले ७६ अर्ब ३३ करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका थिए ।

तर, गत आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा भने बैंक वित्तीय संस्थाले सेयर धितोमा प्रबाह गर्ने कर्जामा उच्च गिरावट आएको छ । २०७८ कात्तिकमा बैंक वित्तीय संस्थाले १०१ अर्ब ९५ करोड उक्त शिर्षकमा कर्जा लगानी गरेका थिए ।

नेपाल राष्ट्र बैंकले ‘इजी मनि मेकिङ’ लाइ सुस्त बनाउन मार्जिन प्रकृतिको कर्जामा कडाई गरेको थियो । त्यसका लागि केन्द्रीय बैंकले सेयर धितो कर्जामा सीमा तोक्ने तथा जोखिम भारीत बढाएको थियो । राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सहज कर्जाका कारण धितोपत्र बजारमा अस्वभाविक सुधार आएपछि त्यसलाई नियन्त्रण गर्न समेत व्यक्तिगत प्रकृतिका कर्जामा कडाइ गरेको हो । फलस्वरुप धितोपत्र बजार सूचक पनि ३ हजार २ सय बाट घटेर अहिल १८ सयको लाइनमा आएको छ ।

गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत केन्द्रीय बैंकले सेयर बजारमा अस्वभाविक सुधार आएको भन्दै सेयर धितो कर्जाको व्यवस्थालाई कसिलो ग्रयो । मौद्रिक नीति मार्फत मार्जिन प्रकृतिको कर्जा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट एक ग्राहक सीमा अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म मात्र लिन सक्ने व्यवस्था गर्यो ।

त्यतीमात्र नभई उक्त कर्जाको सीमा भन्दा माथि भएको ऋणीले कर्जा भुक्तान समय वा एक वर्ष भित्र सीमा भित्र ल्याइसक्नु पर्ने व्यवस्था गर्यो । त्यसले गर्दा पनि यस्तो कर्जा घटाउन दबाब परेको थियो । तर, आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले ४ करोडको सीमालाई हटायो । तर, सेयर धितो कर्जाको जोखिम भार बढाएर १५० प्रतिशत कायम गरेपछि सो शिर्षकको कर्जा घट्न थालेको हो ।

चालु आवको कात्तिकसम्मका वाणिज्य बैंकहरुको सेयर धितो कर्जा ५९ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ । गत असोजमा बैंकहरुको यस्तो कर्जा ६० अर्ब ३४ करोड ८० लाख रुपैयाँ रहेको थियो । कात्तिक महिनामा बैंकहरुको सेयर धितो कर्जा ०.७२ प्रतिशतले घटेको हो।

त्यसैगरी फाइनान्स कम्पनीहरुले कात्तिकसम्ममा ३ अर्ब ८४ करोड ५० लाख रुपैयाँ मार्जिन नेचरको कर्जा प्रवाह गरेका छन । यो कर्जा रकम असोजको तुलनामा २६ करोडले थोरै हो । गत असोजसम्ममा फाइनान्स कम्पनीहरुको कुल मार्जिन नेचरको कर्जा ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको रहेको थियो ।

तर, कात्तिक महिनामा विकास बैंकहरुले मार्जिन नेचरको कर्जा बढाएका छन् । कात्तिकसम्ममा विकास बैंकहरुले कुल सेयर धितो कर्जा १२ अर्ब २० करोड ४० लाख रुपैयाँ प्रवाह गरेका छन । यो कर्जा रकम असोजको तुलनामा ९ करोडले धेरै हो । गत असोजमा विकास बैंकहरुले सेयर धितोमा कुल १२ अर्ब ११ करोड ८० लाख रुपौयँ कजा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।