महुली लघुवित्तले एफपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियूक्त


महुली लघुवित्तले थप नयाँ सेयर (एफपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले एफपीओ निष्काशन गर्नका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

नवकिरण लघुवित्तसँग १०० बराबर ९५ प्रतिशतको अनुपातमा मर्जरमा गएको महुली लघुवित्तले संस्थापक र सर्वसाधारण सेयरधनीको हिस्सा ७० बराबर ३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो । जस अनुसार लघुवित्तले ४ लाख १६ हजार १४७ कित्ता एफपीओ निष्काशन गर्न लागेको हो ।

लघुवित्तले उक्त संख्यामा एफपीओ निष्काशन गर्ने प्रस्ताव २०७८ पुस २४ गते सम्पन्न साधारण सभाबाट पारित गरेको थियो ।

निकट भविष्यमा प्रिमियम मूल्य सहित सर्वसाधारणहरुमा नयाँ निष्काशन (एफपिओ) जारी गर्नका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको लघुवित्तले जनाएको छ ।

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले द्धिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

२०७६ माघ दोस्रो साता मर्जरमा जाने सहमति गरेको लघुवित्तमा सूचीकरण नभएको नवकिरणको संस्थापक सेयर मात्र एकीकृत भएको थियो । जसका कारण बढेको संस्थापकको हिस्सालाई ७० बराबर ३० कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गर्न लागेको हो ।

विसं २०७७ मंसिर ८ गतेदेखि मर्जर पूरा गरी एकीकृत कारोबार थालेको लघुवित्तको चुक्ता पूँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँ कायम भएको थियो । मर्जर पहिले १२ करोड २४ लाख रुपैयाँ रहेको महुलीको पूँजीमा नवकिरणको ६ करोड ७६ लाख रुपैयाँ पूँजीमध्ये ९५ प्रतिशत स्वाप बराबरको ६ करोड ४२ लाख २० हजार रुपैंया पूँजी थप भएको थियो ।

मर्जर पहिलेको महुलीको १२ करोड २४ लाख रुपैयाँ पूँजीमा ७० प्रतिशत अर्थात ८ करोड ५६ लाख ८० हजार रुपैयाँ संस्थापकको र ३ करोड ६७ लाख २० हजार रुपैयाँ सर्वसाधारणको पूँजी थियो ।

नवकिरणको ६ करोड ४२ लाख २० हजार रुपैयाँ संस्थापक पूँजी थपिएपछि संस्थापक र सर्वसाधारणको हिस्सा ८०।३२ प्रतिशत र १९।६८ प्रतिशत कायम भएको थियो । मर्जरपछिका वर्षहरुमा बोनस सेयर वितरण गर्दा पनि लघुवित्तको सेयर संरचनामा परिवर्तन भएको छैन भने पूँजीको आकार बढ्दै गएको छ ।

एकीकृत कारोबार सुरु भएयता लघुवित्तले वितरण गरेको बोनसपछि अहिले महुली सामुदायिक लघुवित्तको चुक्ता पूँजी २८ करोड २१ लाख ६९ हजार रुपैयाँ छ । ४ लाख १६ हजार १४७ कित्ता एफपीओबाट ४ करोड १६ लाख १४ हजार रुपैयाँ पूँजी थप भई ३२ करोड ३७ लाख ८३ हजार रुपैयाँ पुग्नेछ भने संस्थापकको हिस्सा ७० र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ ।

विसं २०७० जेठ ३० गतेदेखि कारोबार महुली लघुवित्तको नामबाट कारोबार सुरु गरेको संस्थाले २०७४ बैशाखमा १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

मर्जरपछि बनेका लघुवित्त संस्थाले निकाल्न थाले एफपीओ, महुली पनि प्रकृयामा

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।