बैंकास्योरेन्सलाई ब्यूँताउने तयारीमा प्राधिकरण, एकीकृत निर्देशिका ल्याइँदै

0
Shares

नेपाल बीमा प्राधिकरणले बैंकास्योरेन्स, तेस्रो पक्ष सहजकर्ता र स्वतन्त्र अभिकर्तालाई व्यवस्थित गर्न एकीकृत निर्देशिका जारी गर्ने भएको छ ।

नयाँ बीमा ऐन २०७९ मा गरिएको प्रावधान अनुसार सबै निकायलाई व्यवस्थित बनाउन एउटै निर्देशिका जारी गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

बीमा ऐन अनुसार यस अघि नै बीमा अभिकर्ताको व्यवस्था गरिएको छ । नयाँ ऐन बमोजिम प्राधिकरणले बीमा अभिकर्ताले कुनै एउटा कम्पनी छनोट गर्न निर्देशन दिइसकेको छ ।

त्यस्तै, ऐनमा तेस्रो पक्ष सहजकर्ताको पनि व्यवस्था गरिएको छ । पुरानो ऐनमा नै यसको व्यवस्था गरे पनि हालसम्म नेपालमा तेस्रो पक्ष सहजकर्ताको उपस्थिति छैन । बीमित र कम्पनी बीच सहजकर्ताको भुमिका निर्वाह गर्ने निकायलाई तेस्रो पक्ष सहजकर्ता भनिन्छ । सहजकर्ताले बीमा अभिकर्ताको भन्दा बढी जिम्मेवारी लिन्छन् । बीमितलाई पोलिसी विक्री गर्ने देखि लिएर दाबी भुक्तानीमा समेत सहजीकरण गर्नेछन् ।

यसैगरी बैकास्योरेन्सलाई पनि प्राधिकरणले व्यवस्थित गर्ने आन्तरिक तयारी थालेको छ । यस अघि ऐनमा बैंकास्योरेन्सको कहि कतै व्यवस्था नभए पछि बैक तथा बीमा कम्पनीले आफुखुशी बैकास्योरेन्सको काम गर्दै आएका थिए ।

तर, बैंकास्योरेन्सको नाममा बैकले जबरजस्ती बीमा गर्न थालेपछि नेपाल राष्ट्र बैंकले बैंकास्योरेन्स नगर्न निर्देशन दिएको थियो ।

स्वतन्त्र बीमा अभिकर्ताको ताकेता पछि केन्द्रीय बैंकले बैकास्योरेन्स पूर्ण रुपमा बन्देज गरेको थियो । बैक तथा वित्तिय संस्थाले कुनै पनि अवस्था जीवन बीमा पोलिसी विक्री गर्न नपाउने व्यवस्था गरिदिएको थियो ।

तर, बैंक तथा बीमा कम्पनी एक आपसमा परिपूरक भएकै कारण बैंकास्योरेन्स पनि आवश्यक रहेको प्राधिकरणको बुझाई छ । तसर्थ प्राधिकरणले एकीकृत निर्देशिका जारी गर्दै बैंकास्योरेन्सलाई पनि व्यवस्थित गर्ने तयारी गरेको हो ।

प्राधिकरणका अनुसार निर्देशिकामा स्वतन्त्र अभिकर्ता, सहजकर्ता र बैंकास्योरेन्सको अधिकार र क्षेत्र निर्धारण गरिनेछ । तत्पश्चात सबै पक्षलाई स्वतन्त्र र व्यवस्थित रुपमा काम गर्न सहज हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।