नेपाल लाइफ इन्स्योरेन्सले ४० प्रतिशतभन्दा धेरै बढायो व्यवसाय, अरु सुचक यस्तो


जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै पूँजी र सेवाग्राही भएको नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ७ अर्ब ८१ करोड ८३ लाख ९३ हजार रुपैंयाको व्यवसाय गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ५ अर्ब ४३ करोड २८ लाख ९४ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको थियो ।

एक वर्षको अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन शिर्षकमा २ अर्ब ३८ करोड ५४ लाख ९८ हजार रुपैंयाको बढोत्तरी भएको हो । प्रतिशतका आधारमा हेर्दा ४३.९० प्रतिशतले खुद बीमाशुल्क आर्जन बढेको हो ।

हरेक वर्ष व्यवसाय तथा लगानीकर्तालाई दिने प्रतिफल क्षमता बिस्तार गर्दै गएका कारण बीमा बजारका साथै शेयर बजारमा नेपाल लाइफले बेग्लै छाप छोड्दै आएको छ ।

यस अवधिमा नेपाल लाइफले १ अर्ब ६७ करोड २५ लाख ९५ हजार रुपैंयाको खुद बीमा दाबी भुक्ता नी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २ अर्ब ५९ करोड ८२ लाख ८३ हजार रुपैंयाको खुद बीमादाबी भुक्तानी गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको बीमा दाबी भुक्तानी रकममा गिरावट आउँदै गर्दा दाबी भुक्तानी हुन बाँकी संख्या पनि १४ हजार ३३४ बाट ११ हजार १६५ मा झरेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले १ अर्ब ३१ करोड ६४ लाख ९६ हजार रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी थियो भने अहिले त्यस्तो रकम १ अर्ब ३० करोड २६ लाख ५३ हजार रुपैंयामा झरेको छ ।

यसले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खुद बीमा भुक्तानी रकम घटे पनि इन्स्योरेन्सले भुक्तान गर्न बाँकी रहेको रकमलाई सन्तुलित अवस्थामा राखेको देखिन्छ । यसको असर बीमाङ्कीय मुल्याङ्कन पछि आउने खुद नाफामा फराकिलो अन्तर आउने देखिन्छ । यस्तो हुँदा बीमित र लगानीकर्तालाई बितरण गर्ने प्रतिफल क्षमतामा नेपाल लाइफ बलियो हुनेछ ।
लगानी तथा कर्जाबाट हुने आम्दानीमा नेपाल लाइफले एक वर्षको अवधिमा फराकिलो सुधार गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो शिर्षकमा नेपाल लाइफले १ अर्ब ४ करोड २५ लाख १९ हजार रुपैंया आम्दानी गरेकोमा अहिले १ अर्ब ४० करोड ६५ लाख ८४ हजार रुपैंया पुर्याएको छ । त्यस्तै पुनर्बीमा कमिशनबाट हुने आम्दानी, बीमालेखको धितोमा कर्जाबाट हुने आम्दानीमा आएको सुधारले कम्पनीको वास्तकि खुद नाफामा फराकिलो अन्तरको सुधार देखिने छ ।

बीमाङ्कीय मुल्यांकन नगर्दा नै नेपाल लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ४४ लाख ३२ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा नेपाल लाइफले २० करोड ४१ लाख ७० हजार रुपैंया खुद नाफा आएको हो । समीक्षा अवधिमा नेपाल लाइफको बीमाङ्कीय मुल्यांकन नहुँदाको खुद नाफामा व्यवसाय अनुसार बढोत्तरी नदेखिनुको मुख्य कारण दोस्रसो बजारमा शेयरमा गरिएको लगानीबाट नोक्सानी व्यहोर्नु हो । इन्स्योरेन्सले शेयर लगानीमा भएको नोक्सानी वापत ११ करोड २७ लाख ९८ हजार रुपैंया व्यवस्था गरेको छ । गत आर्थिक वर्षको यसै त्रैमासमा इन्स्योरेन्सले नोक्सानी वापतको व्यवस्थामा कुनै पनि रकम छुट्याएको थिएन ।

समीक्षा अवधिमा ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैंयाको चुक्ता पूँजीलाई २५ प्रतिशतले बढाएर ५ अर्ब ४९ करोड ६१ लाख ६० हजार रुपैंया पुर्याएको इन्स्योरेन्सको जगेडा कोषको आकार भने ३ अर्ब ६५ करोड ९८ लाख १४ हजार रुपैंयाबाट २ अर्ब ६४ करोड १२ लाख ९ हजार रुपैंयामा झरेको छ ।

जीवन बीमा कोषको आकार ५४ अर्ब ४३ करोड ६४ लाख ७३ हजार रुपैंयाबाट बढेर ७२ अर्ब ३३ करोड ३० लाख ९५ हनार रुपैंया पुगेको छ महाविपत्ती जगेडा ३७ करोड ११ लाख ६ हजारबाट बढेर ४७ करोड ४४ लाख ५२ हजार रुपैंया पुगेको छ ।

वित्तीय विबरणमा उल्लेख भएको प्रतिशेयर आम्दानी र मूल्य आम्दानी अनुपातले समग्र अध्ययनमा मात्र अर्थ राख्ने भए पनि यसैलाई आधिकारिक मान्न मिल्दैन । वित्तीय विबरणमा उल्लेख भए अनुसार इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात ५२.१६ गूणाले बढी छ ।