सीजी ब्रुअरीको ‘नेपाल आइस र मुस्ताङ बियर’ नेपालीको रोजाइमा पर्दा साढे ४ अर्बको व्यापार

0
Shares

सीजी ब्रुअरीले सन् २०२२ मा ४ अर्ब ५४ करोड ५० लाख (अपरिष्कृत) आम्दानी गरेको छ ।

नेपाल आइस र मुस्ताङ बियरको उत्पादन तथा बिक्री वितरण गर्दै आएको सीजी ब्रुअरीले यी दुई ब्रान्डका बियरबाट नै ८० प्रतिशत आम्दानी गरेको हो ।

बजारमा उपलब्ध बियरहरु मध्ये मानिसहरुको रोजाइमा नेपाल आइस र मुस्ताङ बियर परेपछि कम्पनीको आम्दानी क्रमिक रुपमा बढ्दै गएको हो । कम्पनीले सन् २०२२ मा मात्रै ३८ लाख कार्टुन बियर बिक्री वितरण गरेको छ । यस वर्षमा कम्पनीले १५ लाख कार्टुन नेपाल आइस बियर र १२ लाख ८० हजार कार्टुन मुस्ताङ प्रिमियम बिक्री गरेको छ।

सन् १९९३ मा सन् गोल्ड ब्रुअरीको नामबाट स्थापना भएको सीजी ब्रुअरीले १० भन्दा धेरै ब्रान्डका बियरहरु उत्पादन गर्ने गरेको छ । नेपाल आइस र मुस्ताङ बाहेक रिवार्ड ५०००, लिओपार्ड, रियल गोल्ड लगायतका ब्रान्ड नामबाट कम्पनीले विभिन्न फ्लेवरका बियरहरु उत्पादन गर्दै आएको छ ।

कम्पनीमा सबैभन्दा धेरै लगानी सीजी ग्रुप अन्तर्गतको सिजी फुड्स नेपालको रहेको छ । सीजी फुड्सको सेयर हिस्सा ३८ प्रतिशत रहेको छ भने सीजी ग्रुपका अन्य ३ भगिनी कम्पनीहरुको ६२ प्रतिशत सेयर हिस्सा रहेको छ । कम्पनीका अध्यक्ष निर्वाण कुमार चौधरी रहेका छन्।

नेपालका बहुप्रतिष्ठित तथा एशियाका शीर्ष १० धनाढ्यहरुको सूचीमा पर्ने बिनोद चौधरीको ब्रान्डनाम, उनकै सीजी ग्रुप प्रमोटर रहनु र २० वर्ष लामो लिक्वयर उत्पादन इतिहासका कारण पनि कम्पनीलाई कर्जा लिन, ऋणदाताहरु खोज्न सहज भएको छ।

कम्पनीले निरन्तर रुपमा आम्दानी वृद्धि गरेसँगै वित्तीय छवि पनि राम्रो भएको छ । वित्तीय सूचांकहरु बलियो रहेका कारण कर्जा रेटिङका लागि पनि कम्पनीले राम्रो रेटिङ पाउने गरेको छ । कम्पनीका देशभर गरी ३०० डिलर र ५३ हजार रिटेलर पसलहरु रहेका छन्।

तथापि नेपाली बजारमा बियर उत्पादक कम्पनीहरुको सङ्ख्या वृद्धि हुँदा मानिसहरुको सवाद पनि फेरिने गरेको छ । नेपाल आइस र मुस्ताङमा मात्रै निर्भर रही व्यापार गरिरहेको कम्पनीले आगामी समयमा आफ्नो उत्पादनलाई विविधीकरण गर्ने आवश्यकता देखिन्छ।

१ अर्ब २६ करोड ३५ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्राले दीर्घकालीन कर्जाका लागि ए माइन्स र अल्पकालीन कर्जाका लागि ए२ प्लस रेटिङ गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।