एडिबीले अक्टोबरको तुलनामा घटायो विकासोन्मुख एशियाली देशहरुको आर्थिक वृद्धिदर

0
Shares

एशियन डेभलपमेन्ट बैंक (एडिबी) ले अक्टोबर महिनामा प्रक्षेपण गरेको विकासोन्मुख एशियाली देशहरुको आर्थिक वृद्धिदर घटाएको छ ।

अक्टोबर महिनामा विकासोन्मुख एशियाली देशहरुले ४.३० प्रतिशत आर्थिक वृद्धि दर हासिल गर्ने प्रक्षेपण गरेको एडिबिले विश्व अर्थतन्त्र थप अनिश्चितता तर्फ ढल्किएपछि वृद्धिदर घटाएर ४.२० प्रतिशतमा पुर्‍याएको छ ।  यस्तै अक्टोबर महिनामा सन् २०२३ मा विकासोन्मुख देशहरुको आर्थिक वृद्धिदर ४.९० प्रतिशत प्रक्षेपण गरेको एडिबीले डिसेम्बर प्रक्षेपणदर घटाएर ४.६० प्रतिशत कायम गरेको छ ।

कोभिड–१९ का कारण प्रभावित बनेको चिनियाँ अर्थतन्त्र, रुस–युक्रेनबीचको जारी युद्ध, मुद्रास्फीति नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले अपनाएको संकुचित मौद्रिक नीतका कारण आर्थिक वृद्धिदर खुम्चिने प्रक्षेपण एडिबीले गरेको हो ।

एशिया तथा प्यासिफिक क्षेत्रको अर्थतन्त्र सन् २०२३ मा सुधार हुने देखिएता पनि विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेका कारण त्यसको झट्काले वृद्धिदरमा प्रभाव पार्ने एडिबीका प्रमुख अर्थशास्त्री अल्बर्ट पार्कले जनाएका छन् ।

देशहरुले आकाशिएको मुद्रास्फीति र कोभिड–१९ का कारण उदासीन भएको अर्थतन्त्र विस्तारका लागि सामूहिक प्रयास गर्नुपर्ने उनको धारणा रहेको छ । खाद्यान्न तथा इन्धनको मूल्यमा भएको वृद्धिका कारण एडिबीले सन् २०२२ मा एशिया र प्यासिफिक क्षेत्रको मुद्रास्फीति दर ४.४० प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस्तै सन् २०२३ मा मुद्रास्फीति नियन्त्रणमा नआउने भएका कारण ४.२० प्रतिशत कायम रहने अनुमान गरेको छ ।

विश्व अर्थतन्त्रमन्दी उन्मुख रहेको समयमा एडिबीले सन् २०२२ मा चीनको आर्थिक वृद्धिदर ३ प्रतिशत अनुमान गरेको छ । सन् २०२३ मा चीनको अर्थतन्त्र ४.३० प्रतिशतले विस्तार हुने एडिबीले उल्लेख गरेको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र–चीनमा आर्थिक गतिविधि खुम्चिरहेको समयमा भारतको आर्थिक वृद्धिको ग्राफ उकालो लागेको छ । सन् २०२२ मा भारतले ७ प्रतिशतको वृद्धिदर हासिल गर्ने र सन् २०२३ मा आर्थिक वृद्धि दर बढेर ७.२० प्रतिशत पुग्ने एडिबीले अनुमान गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १२ पुस २०७९, मंगलबार  १५ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।