उद्योगी व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न अर्थमन्त्रीलाई नेपाल उद्योग परिसंघको आग्रह


नेपाल उद्योग परिसंघले नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग व्यवसायीको मनोबल उकास्ने नीति अबलम्बन गर्न आग्रह गरेको छ ।

मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले बधाई तथा शुभकामना दिदै विद्यमान अर्थतन्त्रका विषयमा छलफल गरेको हो ।

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल खस्किएको बताएका थिए ।

उद्योगी व्यवसायीको घट्दो मनोबल बढाउन र चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अबलम्बन गर्न उनले अर्थमन्त्री पौडेलसँग आग्रह गरे । उनले उद्योगी व्यवसायीको घटेको मनोबल उकास्न तत्काल २ प्रतिशतसम्म प्रति महिना ब्याजदर घटाउने र चालु पूँजी कर्जा निर्देशिका पुराना ग्राहकहरुका लागि २ वर्षसम्म स्थगित गर्न सके तत्काल सकारात्मक सन्देश संचार गराउने र उद्योगी व्यवसायीलाई उत्साहि बनाउने बताए ।

नयाँ सरकारले २ प्रतिशत व्याज घटाए अर्थतन्त्र चलायमान हुन्छ : परिसंघ

यस्तै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न, कार्यान्वयनमा नआएका ६ वटा औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि उनले आग्रह गरे ।

उहाँले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको रिबुटिङ नेपाली इकोनोमी अवधारणा अर्थमन्त्री समक्ष पेश गरेका थिए ।

परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ ।

परिसंघले यसअघि आजै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” सँग पनि भेटगरी अर्थतन्त्र सुधार सम्बन्धी परिसंघको सुझाव पेश गरेको थियो ।

‘सरकारको ध्यान अर्थतन्त्र सुधार्नमै छ, निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौं’: प्रधानमन्त्री

परिसंघको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले परिसंघले लिपिबद्ध गरी दिएको ठोस सुझावका लागि धन्यवाद दिएका थिए । उनले कार्यान्वयन गर्न सकिने सुझाव परिसंघसँग छलफल गर्दै अगाडि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । साथै अर्थतन्त्र उकास्न परिसंघसँग सहकार्य गर्ने उनको भनाई थियो ।

अर्थमन्त्रीसँगको छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राजश्व सचिव रामेश्वर दंगाल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र पनि सहभागी थिए ।

नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलसँगको भेट गर्ने टोलीमा परिसंघका पुर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेश अग्रवाल, रोहित गुप्ता, परिसंघ गभर्ननिङ्ग काउन्सिल सदस्य शिवरतन शारदा, बालकृष्ण श्रेष्ठ, परिसंघका महानिर्देशक दिपकराज जोशी पनि सहभागि थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।