लगानीकर्ताको हीतलाई ध्यानमा राखेर धितोपत्र सम्बन्धि नीति तर्जुमा गरिन्छ ; बोर्ड अध्यक्ष हमाल


नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले लगानीकर्ताको हीतलाई ध्यानमा राखेर नीति नियम तर्जुमा गरिने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्न मंगलबार बोर्डमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् ।

जनाताले परिर्वतन महसुस गर्नेगरी धितोपत्र सम्बन्धि नीति निमार्ण गर्नु नै आफ्नो प्रमुख उद्देश्य रहेको हमालको भनाई थियो ।

“जनाताले परिर्वतन महसुस गर्नेगरी धितोपत्र सम्बन्धि नीति निमार्ण गर्नु नै मेरो प्रमुख उद्देश्य हो,” अध्यक्ष हमालले भने “काम गर्दै जाँदा हुनसक्ने प्रक्रियागत गल्तीमा सचेत गराउन म सबैलाई आग्रह गर्छु ।” गलत उद्येश्य र नियत राखेर आफू कहिल्यै अघि नबढ्ने पनि हमालले प्रष्ट्याए ।

बोर्डको नेतृत्वमा आएपछि वित्तीय साक्षरता धेरै काम गर्नु पर्ने देखिएको पनि उनले बताए । वित्तिय साक्षरताका लागि उपयुक्त नीति र बजेटका लागि बोर्डले गृहकार्य गरिरहेको पनि उनले बताए ।

वित्तीय साक्षरताका लागि आर्थिक पत्रकारहरुको क्षमता अभिबृद्धि अनिवार्य भएको भन्दै उनले बदलिँदो प्रविधि र विश्व आयमसँग अनुकुल हुनेगरी आर्थिक पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नेबारे बोर्डले तयारी थालेको पनि जानकारी दिए ।

कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले अर्थतन्त्र विकासमा आर्थिक पत्रकारहरूले खबरदारी गरिरहेको बताए । “जिम्मेवार स्थानमा बसेका नियामक निकायहरूले गर्ने राम्रा कामको प्रचार गर्दै नकरात्मक र गैह्रकानूनी काम गरेमा निरुत्साहित गर्ने भूमिकामा आर्थिक पत्रकार छन्”, अध्यक्ष ढकालले भने ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।