आयोजना कार्यान्वयन निर्देशनालय पिआईडी बाट काठमाडौं उपत्यकाभित्र बिच्छ्याइएका नयाँ पाइलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावट नभएको पाइएको छ ।
काठमाडौंका अनामनगर, थापाथली लगायतका क्षेत्रमा नियमितरूपमा र परीक्षण सम्पन्न भएका अन्य स्थानमा तालिकामा समावेश नगरी खानेपानी वितरण गर्दा चुहावटको समस्या नदेखिएको हो ।
खानेपानी चुहावट भएको भनी यस निर्देशनालयमा उपभोक्ताहरूबाट विभिन्न मितिमा आएका जानकारीका आधारमा मर्मतका लागि प्राविधिक टोली पठाउँदा नयाँ पाइपलाइनबाट नभई अधिकाङ्श पुराना पाइपलाइनबाट खानेपानी चुहावट भएको पाइएको निर्देशनालयले जनाएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तेस्रो पक्ष लगायतबाट सडक तथा ढल निर्माण/मर्मत, विद्युतलाइन र टेलिफोनका तार भूमिगत गर्ने लगायतका कार्य हुँदा क्षतिपुगेका खानेपानी वितरण प्रणालीका ठूला पाइपलाइन र खानेपानी वितरण सञ्जालका पाइपलाइनमध्ये अधिकाङ्शको मर्मत कार्य सम्पन्न भइसकेको जनाएको छ ।
तर तेस्रो पक्ष लगायतबाट विभिन्न कारणले खानेपानीका पाइपलाइनमा क्षति हुन नछाडेकाले खानेपानीका पाइपलाइनमा क्षति पुग्नेगरी कुनै काम नगर्न/नगराउन निर्देशनालयले ध्यानाकर्षण समेत गराएको छ । 
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पहिलो चरणमा बिच्छ्याइएका १ हजार १० किलोमिटर खानेपानीका नयाँ पाइपलाइनमध्ये करिव ५५० किलोमिटर पाइपलाइनको परीक्षण गर्ने कार्य सम्पन्न पनि निर्देशनालयले जनाएको छ ।
हाल काठमाडौंका सिनामङ्गल, कोटेश्वर, नरेफाँट, पुरानो बानेश्वर, बत्तीसपुतली, रातोपुल, ज्ञानेश्वर, हाँडीगाऊँ लगायतका क्षेत्र र ललितपुरका ग्वार्को, मङ्गलबजार, बालकुमारी, सुन्धारा, बगलामुखी, कृष्णमन्दिर, कुपण्डोल, पुल्चोक, मानभवन, लगनखेल लगायत अन्य क्षेत्रमा खानेपानीका नयाँ पाइपलाइनको परीक्षण गर्ने कार्यलाई तीब्रता दिइएको जनाएको छ ।
तेस्रो पक्ष लगायतबाट विगतमा विभिन्न कारणले खानेपानीका नयाँ पाइपलाइनमा क्षति भएको तर जानकारी नपाएका स्थानहरूमा नयाँ पाइपलाइनको परीक्षण गर्दा खानेपानी चुहावट भई सडकमा बग्नसक्ने भएकाले त्यस्तो देखिएमा यस आयोजना कार्यान्वयन निर्देशनालयलाई जानकारी दिन समेत आग्रह गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया