अप्पर अरुण आयोजना मुआब्जा वितरण सुरु, २ खर्ब खर्चिएर १ हजार ६१ मेगावाटको आयोजना बन्दै

0
Shares

सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा गर्न सुरु गरिएको छ ।

अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साबिक चेपुवा, हटिया तथा पावाखोलाका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण गर्न सुरु गरिएको अप्पर अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले जानकारी दिए ।

अप्पर अरुण आयोजनाका लागि भोटखोलामा २ हजार ५०० रोपनी जग्गा अधिग्रहण गरिएको छ । १ हजार ६१ मेगावाट जलविद्युत उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण अघि बढाइएको छ । आयोजनाले प्रभावित क्षेत्रका ३३५ घरपरिवारलाई मुआब्जा वितरण गरिने आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए । उनका अनुसार हालसम्म भोटखोला–२ हटियाका १५ घरपरिवारलाई करिब साढे ४ करोड रुपैयाँ मुआब्जा वितरण गरिसकिएको छ ।

उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी १५ लाख रुपैयाँ मुआब्जा निर्धारण गरिएको छ । कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी १० लाख रुपैयाँ निर्धारण गरिएको छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो ।

त्यस्तै हटिया–८, ९ र चेपुवा–१ को अलैँची बालीसहितको जग्गा प्रतिरोपनी ९ लाख ५० हजार रुपैयाँ र चेपुवा–१, हटिया–८ तथा ९, पावाखोला–३ का अलैँची बाली नभएको पाखा बारीको प्रतिरोपनी रु सात लाख कायम गरिएको थियो ।

आयोजना निर्माणको कार्य दुई वर्षपछिदेखि सुरु हुने भएको छ । आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नं २ र ४ मा हुनेछ । सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत् आयोजना बनाउन लागेको हो ।

जलविद्युत् आयोजनाको अनुमानित लागत २ खर्ब रुपैयाँभन्दा बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: १६ पुस २०७९, शनिबार  १५ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।