जीवन बीमा कम्पनीले मंसिरमा मात्रै गरे सवा १८ करोडको लघुबीमा व्यवसाय

0
Shares

जीवन बीमा कम्पनीहरुले गत मंसिर महिनामा मात्रै १८ करोड २५ लाख रुपैयाँ बराबरको लघु जीवन बीमा व्यवसाय गरेका छन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरुले प्रथम बीमाशुल्क बापत १७ करोड ४८ लाख रुपैयाँ संकलन गरेका छन् भने नविकरणीय बीमाशुल्क बापत ७६ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

मंसिर महिनामा कम्पनीहरुले ७८ अर्ब ९१ करोड रुपैयाँ बराबरको चार लाख ३८ हजार १४२ वटा लघु जीवन बीमा पोलिसी जारी गरेका छन् ।

मंसिर महिनामा नेशनल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै लघु जीवन बीमा व्यवसाय गरेका छन् । प्राधिकरणको तथ्यांक अनुसार मंसिर महिनामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले पाँच करोड ८२ लाख रुपैयाँ बराबरको लघु जीवन बीमा व्यवसाय गरेको छ ।

सो महिनामा कम्पनीले ६८ हजार १४३ वटा पोलिसी जारी गरेको तथ्यांकमा उल्लेख छ । त्यस्तै, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले पाँच करोड सात लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । मंसिरमा मात्रै कम्पनीले दुई लाख ४१ हजार ५१६ वटा लघुजीवन बीमा पोलिसी बिक्री गरेको छ ।

न्यून आय भएका व्यक्तिको लागि बिक्री गरिने थोरै बीमाकंको पोलिसीलाई लघु जीवन बीमा पोलिसी भनिन्छ । सरकारले न्यून आय भएका व्यक्तिलाई पनि बीमाको दायरामा समेटन लघु जीवन बीमा पोलिसी सञ्चालनमा ल्याएको हो । प्राधिकरणले लघु बीमा पोलिसी मात्रै विक्री गर्ने गरी नयाँ कम्पनी स्थापनाको लागि अनुमति समेत दिइसकेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार चालु आवको मंसिर महिनासम्ममा भने लघु जीवन बीमा बापत कम्पनीहरुले ८९ करोड १९ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । नविकरणीय बीमा बापत ६ करोड २० लाख रुपैयाँ संकलन गरेका छन् । हालसम्म ४३ लाख ५७ हजार ८६ वटा लघुबीमा पोलिसी सक्रिय रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।