चिनियाँ सहयोगमा यसरी हुँदैछ नेपालमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण

0
Shares

चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्। खानी तथा भूगर्भ विभागका अधिकारीहरूका अनुसार अबको एक वर्षभित्र त्यस्तो अन्वेषण सकिनेछ। 

विस्तृत अन्वेषण सकिएपछि त्यस क्षेत्रमा पेट्रोलियम पदार्थ भएको वा नभएको टुङ्गो लाग्नेछ। अधिकारीहरूले आवश्यक उपकरणसहित चिनियाँ टोली पेट्रोलियम पदार्थ भएको सम्भावित क्षेत्रमा पुगिसकेको बताएका छन्।

अन्वेषणका लागि झन्डै ४० वर्ग किलोमिटर क्षेत्रमा ४५०० मिटर गहिराइसम्म खनिनेछ। खानी तथा भूगर्भ विभागका निमित्त महानिर्देशक रामप्रसाद घिमिरे भन्छन्, ‘त्यहाँ पेट्रोलियम ग्यासको सम्भाव्यता देखिएकाले अहिले अन्वेषणात्मक काम भइरहेको छ। यसै महिनामा त्यस क्षेत्रमा साईज्मिक (भूकम्पीय) सर्वेक्षण सुरु हुनेछ। त्यो भएपछि विस्तृत विवरण आउनेछ।’

उनका अनुसार विभिन्न ठाउँमा ससाना कम्पन सिर्जना गरेर सर्वेक्षण गरिनेछ। ती स्थानमा जमिनको सतहबाट ४५०० मिटरभित्र छेडेर कुवा खन्ने उपयुक्त ठाउँ छनोट गर्ने तयारी रहेको अधिकारीहरू बताउँछन्। अधिकारीहरूका अनुसार नेपालमा पेट्रोलियम पदार्थको खोजी गर्न यस्तो खाले विस्तृत अध्ययन सुरु गरिएको यो दोस्रो पटक हो।

नेपाल सरकारले विभिनन स्थानमा खनिज पदार्थ सर्वेक्षणका लागि अनुमतिपत्र दिएको छ यसअघि विसं २०४५ सालतिर मोरङको बाहुनीमा विस्तृत अन्वेषण भएको थियो।

यस पटकको अन्वेषण नेपाल र चीन सरकारबीच भएको द्विपक्षीय सम्झौताअन्तर्गत हुन लागेको हो। चार वर्षअघि भारतले लगाएको अघोषित नाकाबन्दी पछि पुन: नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणको चर्चा सुरु भएको हो।