टिमुर खेतीको साथमा कृषकको पनि दुई लाख बराबरको दुर्घटना बीमा हुने

0
Shares

नेपाल बीमा प्राधिकरणले टिमुर खेतीको पनि बीमा गर्ने भएको छ । कृषकहरुको मागलाई मध्यनजर गर्दै प्राधिकरणले टिमुर बीमा पोलिसी जारी गरेको छ । पोलिसी अनुसार टिमुर खेतीको साथमा कृषकको पनि दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हुनेछ ।

टिमुर खेती बीमा पोलिसीले अग्नि, हावा, पानी, मौसम, भूमि र चट्याङबाट हुने क्षतिको रक्षावरण गर्नेछ । त्यस्तै, जंगली जनावरको आक्रमणबाट क्षति भएमा, रोग लागेमा वा किराले नष्टमा गरेमा पनि कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्नेछ । टिमुर खेतीको बीमा सामुहिक रुपमा पनि गर्न सकिनेछ ।

टिमुर खेतीको उत्पादनको आधारमा र लागतको आधारमा पनि बीमा गर्न सकिनेछ । लागतको आधारमा बीमा गर्दा बीमांक रकमको तीन प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, लागतको आधारमा बीमा गर्दा बीमांक रकमको पाँच प्रतिशत बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ । टिमुरको बोटको उत्पादन र लागतको आधार वनस्पती विभागले तोके बमोजिम हुनेछ ।

बीमा गरिएको खेती नष्ट भएमा कम्पनीले टिमुरको बोट रोपेको अवधिको आधारमा भुक्तानी गर्नेछ । टिमुरको बोट रोपेको एक बर्ष पुगेमा क्षति भएको रकमको ८५ प्रतिशत रकम भुक्तानी हुनेछ । बोट रोपेको पाँच बर्ष पुगेको अवस्थामा क्षति भएको रकमको शतप्रतिशत भुक्तानी हुनेछ ।

त्यस्तै, टिमुर बीमा पोलिसीले कृषकको दुर्घटना बीमा समेत वहन गर्नेछ । बीमा अवधि भित्रमा कृषकको आत्महत्या बाहेक अन्य कुनै कारणले मृत्यू भएमा कम्पनीले दुइ लाख रुपैयाँसम्म भुक्तानी गर्नेछ ।

त्यस्तै, स्पाइनल इन्जुरीको कारण पुन ठीक नहुने गरी रिढंको हड्डी काम नलाग्ने भएमा, एउटा हातको नाडीदेखि माथि पुरै हात काम नलाग्ने भएमा, कुनै एउटा खुट्टाको गोलीगाँठो देखि माथि पूरै खुट्टा काम नलाग्ने भएमा वा दुवै आँखाको दृष्टि गुमेमा समेत कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्नेछ ।

कृषकको दुर्घटना जोखिम बहन गरे बापत कृषकले पाँच सय रुपैयाँ बीमाशुल्क थप भुक्तानी गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।