चौधरीको सीजी ल्यान्डमार्कको आम्दानी १२ करोड, कारोबार २४% ले बढ्यो

0
Shares

चौधरी ग्रुपका निर्वाण कुमार चौधरी र सारिका चौधरीको लगानी रहेको ‘सीजी ल्यान्डमार्क कम्प्लेक्स’बाट १२ करोड १४ लाख आम्दानी गरेको छ ।

सन् २०२१ मा ९ करोड ७७ लाख रहेको सञ्चालन आम्दानी २४ प्रतिशतले बढेर १२ करोड १४ लाख हुन पुगेको हो ।

कम्प्लेक्समा सञ्चालित तीन तारे होटलबाट ४३ प्रतिशत र कर्मेशियल मलबाट ४४ प्रतिशत आम्दानी गरेको छ । बाँकी आम्दानी कम्पनीले कमन एरिया मेन्टेनेन्स र विज्ञापनबाट गर्दै आएको छ ।

होटल चितवन प्रालिले निर्माण गरेको सीजी ल्यान्डमार्कमा कन्सेप्ट हस्पिटालिटि अन्तर्गतको ‘द फर्न रेजिडन्सी’ ब्रान्डनामबाट ३ तारे होटल सञ्चालनमा रहेको छ । यस्तै ७० वटा रिटेल स्टोर रहेको कम्प्लेक्शमा मल्टिप्लेक्स पनि सञ्चालनमा रहेको छ ।

कोभिड संक्रमण कम हुँदै गएपछि चितवनमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा भएको वृद्धिका कारण होटलको आम्दानी बढेको छ । यस्तै नेपालको शीर्ष व्यापारिक घराना सीजी ग्रुपकै अगुवाइमा कम्प्लेक्स निर्माण भएका कारण कम्प्लेक्स सञ्चालनका समयमा आवश्यक पर्ने वित्तीय तथा प्राविधिक सहयोग मिलेको छ ।

उक्त कम्प्लेक्समा निर्वाण कुमार चौधरीको ५३.३ प्रतिशत, सारिका चौधरीको ६.५ प्रतिशत र एपोलो क्यापिटल इन्भेष्टमेन्ट प्रालिको ४०.२ प्रतिशत लगानी रहेको छ।

९७ करोड ६५ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि सीजी ल्यान्डमार्क निर्माता कम्पनी होटल चितवन प्रालिले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई दीर्घकालीन कर्जाका लागि डबल बी माइन्स र अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।