ललितपुरको ग्वार्कोमा माघदेखि फ्लाइओभर निर्माण सुरु हुने


ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण माघको पहिलो सातादेखि सुरू हुने भएको छ । हाल आवश्यक तयारी भइरहेको भन्दै सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता सिनियर डिभिजनल इञ्जिनियर सौरभ बज्राचार्यले माघको पहिलो सातादेखि निर्माण सुरू हुने बताए ।

हाल सामान व्यवस्थापनको काम भइरहेको बताएका उनले १० दिनपछि निर्माण सुरू हुने बताए । अहिले नै बाटो बन्द गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले सबै तयारी पूरा भएपछि मात्रै निर्माण सुरू गर्ने उनको भनाई छ ।

१४ महिनामा निर्माण पुरा गर्नेगरी थालिएको फ्लाइओभर निर्माण हुने क्षेत्रमा पर्ने सडक बिस्तार गरी १० लेन बनाइए पनि ट्राफिक जामको समस्या समाधानका लागि फ्लाइओभर बनाउन लागिएको हो । हाल यस क्षेत्रमा चार लेनको मुख्य सडक, सर्भिस लेन र त्यसभन्दा बाहिर दुवैतर्फ एक एक लेन सडक छ ।

सबैभन्दा बाहिरी लेनमा हाल सवारी साधन पार्किङ भइरहेकाले त्यसलाई हटाएर नियमित सवारी सधान गुड्ने व्यवस्था गर्न लागिएको छ ।

फ्लाइओभरको उचाइ ६ मिटर हुनेछ भने बालकुमारीतर्फ २८० मिटर लामो र्याम र सातादोबाटोतर्फ एक सय ७५ मिटर लामो र्याम बनाइनेछ ।

कुल चार सय ९० मिटर लम्बाइको फ्लाइओभरमा ‘सुपर स्ट्रक्चर’ ३५ मिटरका हुनेछ ।

फ्लाइओभर सञ्चालनमा आएपछि मंगलबजार – इमाडोल – मंगलबजार चल्ने सवारीसाधन पुलमुनिबाट जानेछन् भने चक्रपथमा गुड्ने सवारीसाधन पुलमाथिबाट गुड्नेछन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।