हामा ग्रुपको लगानी रहेको हामा आइरन एन्ड स्टील उद्योगको आम्दानी सन् २०२२ मा ३९ प्रतिशतले बढेको छ ।
सन् २०२१ मा २ अर्ब ७३ करोड ५० लाख परिष्कृत आम्दानी सन् २०२२ मा ३९ प्रतिशतले बढेर ३ अर्ब ८० करोड ६० लाख पुगेको हो ।
कम्पनीको आम्दानीमा वृद्धि भएता पनि डिप्रिसियसन, अर्मोटाइजेसन, बयाज र कर अघिको नाफा (इबिटिडा)मा भने गिरावट आएको छ । सन् २०२१ मा कुल आम्दानीको १०.९५ प्रतिशत रहेको सो नाफा घटेर सन् २०२२ मा ४.५७ प्रतिशत पुगेको छ ।
उद्योगले ‘हामा’ ब्रान्डका टिएमटी छड बिक्री वितरण गर्दै आएको छ । सन् १९८९ मा स्थापना भएको उद्योगले टिएमटी छड, एन्निलेड बाइन्डिङ वायर, हार्ड ब्राइट वायर, प्लेन राउन्डको उत्पादन गर्दै आएको छ । उद्योगको कुल उत्पादन क्षमता वार्षिक रुपमा १ लाख २० हजार मेट्रिक टन रहेको छ । तथापि क्षमता अनुसारको काम हुन सकेको छैन ।
उद्योगको क्षमता अनुरुप काम हुन नसक्नु, इबिटिडामा आएको कमी, कच्चा पदार्थको मुल्यमा भएको वृद्धिका कारण उद्योगले अपेक्षा अनुरुपको आम्दानी गर्न सकेको छैन।
तथापि नेपाल सरकारले पूर्णधार विकासलाई प्राथमिकतामा राखेका कारण आगामी समयमा आम्दानीमा वृद्धि हुने सम्भावना देखिन्छ । यस्तै हामा आइरन एन्ड स्टील उद्योगको देशभर १०० डिलर र सब–डिलर रहेका छन् । जसकारण पनि कम्पनीको आम्दानीमा बढ्ने देखिन्छ ।

स्टील उद्योगमा लामो समय काम गरी अनुभव बटुलेका बाल कृष्ण श्रेष्ठ उद्योगका अध्यक्ष रहेका छन् । उद्योगको प्रमोटर नै हामा ग्रुप भएको हुँदा उद्योगलाई वित्तीय र प्राविधिक रुपमा राम्रो सहयोग मिलेको छ ।
४ अर्ब १७ करोड बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि उद्योगले रेटिङ गराएको छ । दीर्घकालीन रेटिङका लागि उद्योगलाई इन्फोमेरिक्स नेपालले बी रेटिङ गरेको छ भने अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया