बीमा कम्पनीको लगानी नीतिमा बीमक संघको आपत्ति, तरलता संकट निम्ताएको आरोप

0
Shares

नेपाल बीमा संघले नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको लगानी निर्देशिका संशोधन गरी मुलुकमा झनै तरलता संकट निम्ताएको आरोप लगाएका छन् । प्राधिकरणले प्रतिफल कम हुने क्षेत्रमा बीमा कम्पनीको लगानीको सीमा घटाएको तर, जोखिम हुने क्षेत्रमा बढाएको संघको आरोप छ ।

प्राधिकरणले गत साता मात्रै कम्पनीहरुको लगानी निर्देशन संसोधन गर्दै विभिन्न ११ वटा क्षेत्र तोकेको छ । परिमार्जन गरिएको लगानी निर्देशनमा प्राधिकरणले बचतपत्र, ऋणपत्रमा गर्ने लगानीको सीमा बढाइदिएको छ भने वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपमा सीमा घटाइदिएको छ ।

नयाँ निर्देशन अनुसार जीवन बीमा कम्पनीहरुले वाणिज्य बैंकको मुद्दती निक्षेपमा कम्तिमा ३० प्रतिशत लगानी गर्नुपर्नेछ । यस अघि भने यो सीमा ४० प्रतिशत थियो । त्यस्तै, विकास बैंकको मुद्दती निक्षेपको लगानीको सीमा भने घटाइदिएको छ ।

नयाँ निर्देशन अनुसार कम्पनीहरुले विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको बढीमा १० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउने व्यवस्था गरेको छ । यस अघि भने २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको थियो । प्राधिकरणले विकास बैंकको मुद्दती निक्षेपमा गरिने लगानीको सीमा घटाएपछि बीमा कम्पनीहरु रुष्ट भएका छन् ।

संघले प्राधिकरणलाई अनौपचारिक रुपमा नयाँ निर्देशलाई फिर्ता लिन आग्रह गरेको छ ।

प्राधिकरणको नयाँ निर्देशनपछि बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाबाट रकम निकाल्ने संघले जनाएको छ । यसले बैंक तथा वित्तीय संस्थामा झनै तरलता अभाव हुने संघका महासचिव अशोक खड्काले बताए ।

“वाणिज्य बैंकले संस्थागत निक्षेपमा दिने ब्याज कम छ । तुलनात्मक रुपमा वाणिज्य बैंकले बढी ब्याज दिन्छन् । जहाँ बढी ब्याज आउँछ त्यहिँको सीमा घटाइ दिएको छ,” उनले भने, ‘बीमा कम्पनी पनि व्यवसाय गर्न नै बसेका हुन् । जहाँ प्रतिफल कम हुन्छ त्यहाँबाट लगानी निकाल्छौं ।’

त्यस्तै, प्राधिकरणले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र, ऋणपत्रमा कुल लगानीको कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्ने प्रावधान राखेको छ । यस अघि भने प्राधिकरणले सो क्षेत्रमा ५ प्रतिशत मात्रै लगानी गर्न सक्ने व्यवस्था गरेको थियो ।

यसका साथै प्राधिकरणले घरजग्गामा बीमा कम्पनीहरुलाई कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय क्षेत्रले जोखिममा मानेर कडाइ गरेको घरजग्गामा प्राधिकरणले भने लगानी गर्न प्रोत्साहित गरेको छ । प्राधिकरणको यस्तो निर्देशन प्रति बीमा संघले आपत्ति जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।