स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित, अन्य पदमा को को आए ?


नेपाल स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा धर्मराम राज सापकोटा निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको अधिवेशनले ब्रोकर नम्बर ३७, सर्वलक्ष्मी सेक्युरिटिजका सञ्चालक सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो । उनले २८ मत पाएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी गुणनिधी भुषालले १६ मत पाएका छन् । उनी ५७ नम्बर आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्युरिटिजका सञ्चालक हुन् ।

शनिबारको निर्वाचन कार्यक्रम रहेकोमा दिनभर सहमतिको प्रयास गरिए पनि त्यसले सार्थकता नपाउँदा अन्तिम समयमा निर्वाचन भएको थियो । ५० वटा ब्रोकरका बिचमा यस अघि सहमतीय प्रणालीबाट नेतृत्व चयन हुँदै आएको थियो ।

अध्यक्ष बाहेकका सबै पदमा सर्वसम्मत रुपमा पदाधिकारीहरु चयन भएका छन् । एशोसिएसनको उपाध्यक्षमा ४१ नम्बर लिन्च सेक्युरिटिजकी सरिता अधिकारी सर्वसम्मत भएकी छन् भने महासचिवमा ५२ नम्बर सुनधारा सेक्युरिटिजका फणिन्द्र ढकाल सर्वसम्मत भएका छन् ।

सचिवमा २५ नम्बर स्वेता सेक्युरिटिजका सुयोग अधिकारी तथा कोषाध्यक्षमा ५८ नम्बर नासा सेक्युरिटिजका मदन पौडेल सर्वसम्मत भएका हुन् ।

त्यसैगरी सदस्यमा प्रियान्सु अग्रवाल, मित्रलाल श्रेष्ठ र प्रज्जवल उप्रेती सर्वसम्मत भएका हुन् । एशोसिएसनमा निवर्तमान अध्यक्ष समेत गरी ९ सदस्यीय कार्यसमिति चयन भएको हो । निवर्तमान अध्यक्ष सन्तोष मैनाली हुन् ।

यस अघि ११ सदस्यीय कार्यसमिति रहँदै आएकोमा बिधान संशोधन गरी ९ सदस्यीय कार्यसमिति बनाइएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।