मर्जरले बैंकहरु ठूला बन्दै जाँदा स्वनियमनमा बस्नुपर्छः गभर्नर अधिकारी

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मर्जरले बैंकहरु ठूला बन्दै जाँदा बैंकहरुले स्वनियमनमा बस्नुपर्ने बताएका छन् ।

बैंकहरु ठूलो हुँदै गर्दा नियामक निकाय नेपाल राष्ट्र बैंकले दिएका निर्देशनका आधारमा मात्र चल्ने भन्दा बैंकहरु आफैँ स्वनियमनमा सञ्चालन हुनुपर्ने उनले बताएका हुन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जरपछि एकीकृत कारोबारको अवसरमा बोल्दै गभर्नर अधिकारीले ठूला बैंकले एकल ग्राहक सीमामा आन्तरिक सीमा समेत कायम गरी साना तथा मझाैला ऋणीहरुलाई ऋण प्रवाह गर्नुपर्ने समेत बताए ।

मर्जर भएसँगै पुँजी वृद्धि भएपनि बैंकहरुले साना ऋणीलाई पनि उत्तिकै प्राथमिकता दिएर कर्जा प्रवाह गर्दै जानुपर्नेमा उनले जोड दिए । बैंक उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने उनको भनाइ थियो । धेरै बैंक हुँदा वित्तीय साक्षरतासँगै वित्तीय कारोबार बढ्ने अपेक्षा गरिए पनि त्यसो हुन नसकेको अधिकारीले बताए ।

गभर्नर अधिकारीले यस वर्ष विभिन्न १४ वटा बैंक मर्जरमा गएको जानकारी दिँदै बैंकहरुको मर्जरका लागि पनि निकै उत्साहप्रद रहेको समेत जानकारी दिए । बैंक तथा वित्तीय संस्थाहरुको मर्जरले बैंक तथा वित्तीय संस्थाहरु ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत कम हुँदै जानुपर्नेमा उनकाे जाेड थियाे । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाली बैंकिङ्ग क्षेत्रका लागि आजको दिन एउटा ऐतिहासिक दिन रहेको बताउँदै गभर्नरले मर्जरसँगै अधिकांश वित्तीय सूचकहरुमा ग्लोबल आइएमई बैंक नेपालको नम्बर वान बैंक बनेको बताए ।

जवाफमा बैंकका अध्यक्ष चन्द्र ढकालले नेपाल राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि ग्लोबल आइएमई बैंकले त्यसलाई पछ्याउँदै अघि बढेको र सरकार तथा नेपाल राष्ट्र बैंकको मर्जर नीतिलाई कार्यान्वयनमा ल्याउने लिडर रहेको बताएका थिए ।

सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधैँ पहिलो हुने बताएका अध्यक्ष ढकालले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसाबले सर्वोकृष्ट बैंक बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।