प्राविधिक समस्याका कारण अमेरिकामा सबै आन्तरिक उडान स्थगित


प्राविधिक समस्याका कारण संयुक्त राज्य अमेरिकामा हवाई उडान अबरुद्ध भएका छन् । नेशनल कन्ट्रोल सिस्टमको नोटिस टु एयर मिशन सिस्टममा आएको खराबीका कारण मुलुकभरका आन्तरिक हवाई उडानहरु प्रभावित भएका हुन् ।

प्रणालीमा आएको समस्याका कारण बुधबार बिहान ९ बजेसम्मका लागि अमेरिकाका सबै आन्तरिक उडानहरु स्थगित गरिएको छ । फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले समस्या समाधानको पहल भईरहेको भन्दै बुधबार बिहान ९ बजेसम्मका लागि सबै उडान स्थगित गर्न निर्देशन दिएको हो ।

एजेन्सीका अनुसार बुधबार बिहानैदेखि उक्त प्रणालीमा समस्या आएपछि आन्तरिक उडानहरुमा ढिलाई भएको थियो । उडानमा भएको ढिलाईसँगै जहाजको लाइन लाग्न थालेपछि धेरै उडानहरु ग्राउण्डेड गरिएको न्युयोर्क टाइम्सले जनाएको छ । बुधबार अमेरिकामा उक्त प्राविधिक समस्याका कारण १ हजार १०० भन्दा बढी उडानहरु डिले भएका थिए भने ९० भन्दा धेरै उडानहरु रद्ध गरिएको उडान ट्रयाकिङ कम्पनी फ्लाइटअवेयरले जनाएको छ ।

बुधबार आएको प्राविधिक समस्यालाई एयरलाइन्सहरुले नेशनल कन्ट्रोल सिस्टमको असफलताका रुपमा व्याख्या गरेका छन् । युनाइटेड एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै बुधबार देखिएको समस्याले सबै आन्तरिक उडानहरूमा ढिलाइ भएको जनाएको छ । यस्तो ढिलाई छोटो समयका लागि हुने आश गरिएको बताउँदै उक्त एयरलाइन्सले फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) को प्रणाली सुचारु गराउने प्रयासको एयरलाइन्सहरुले पर्खाइ गरिरहेको जनाएको छ ।

एफएएले विज्ञप्ति जारी गर्दै अबरुद्ध भएको प्रणालीलाई पुनस्र्थापना गर्न काम गरिरहेको बताएको छ । बुधबार बिहान ९ बजेसम्मका लागि सबै उडान स्थगित गर्न निर्देशन दिएको एफएएले समस्यालाई द्रुत र सुरक्षित रूपमा समाधान गर्न काम गरिरहेको र हवाई उडानहरुलाई पुर्ववत अवस्थामा सामान्य किसिमले सञ्चालन गर्न प्रयास भईरहेको जनाएको छ । राष्ट्रिय एयरस्पेस प्रणाली पूर्ण रुपमा चल्न नसक्दा समस्या आएको पनि एफएएले जनाएको छ । प्रणाली सुचारु गराउन भईरहेका प्रयासका बारेमा यात्रु तथा विमानसेवा प्रदायकहरुलाई अपडेट गराइरहने पनि एफएएले जनाएको छ ।

उता धेरै एयरपोर्टहरूले यात्रुहरूलाई उडान सम्बन्धि जानकारीको लागि सम्बन्धित एयरलाइन्ससँग नियमित सम्पर्कमा रहन आग्रह गरेका छन् ।

टेक्सासको अस्टिन बर्गस्ट्रोम अन्तर्राष्ट्रिय विमानस्थलले ट्वीटरमा एफएए आउटेजका कारण मुलुकका अधिकांश विमानस्थलमा ग्राउण्ड स्टप भएको खुलाएको छ । जसका कारण उडानहरु कति बेला सुचारु हुन्छन् भन्ने अन्यौलता कायमै रहेको विमानस्थलले जनाएको छ ।

यात्रुहरुले भने सामाजिक सञ्जालमा उडानमा भइरहेको ढिलाईका सम्बन्धमा सार्वजनिक गर्दै कारणबारे जानकारी नभएको बताइरहेका छन् । बुधबार दिनभर उडानमा भएको ढिलाईका कारण अधिकांश विमानस्थलमा यात्रुहरुको भिड लागेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।