लुम्बिनी मेडिकल कलेजको लगानी देवदह मेडिकल कलेज र लुम्बिनी अस्पतालमा, बार्षिक डेढ अर्बको कारोबार

0
Shares

पाल्पा जिल्लामा रहेको लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालले देवदह मेडिकल कलेज र लुम्बिनी इन्टरनेशनल अस्पतालमा लगानी थपेको छ ।

सन् २००५ मा स्थापना भएको लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले एमबीबीएस, पीसिएल नर्सिङ, बीएससी नर्सिङ र पोस्ट ग्य्राजुएड कोर्सहरुको अध्ययन अध्यापन गराइरहेको छ । काठमाडौँ विश्वविद्यालय र सीटिभीटिले अध्यापन गराउने कोर्सहरुको अध्ययन लुम्बिनी मेडिकल कलेजमा हुँदै आएको छ ।

राजधानी बाहेकका अन्य जिल्लाहरुमा स्वास्थ्य तथा मेडिकल शिक्षाको पहुँच बढाउने नीति सरकारले अपनाउँदा उपत्यका बाहिर मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगानी गर्नेहरुको सङ्ख्या बाक्लो हुँदै गएको छ । यसै क्रममा लुम्बिनी मेडिकल कलेज एन्ड शिक्षण अस्पतालले पनि ४०० बेडको क्षमता भएको देवदह मेडिकल कलेजमा लगानी विस्तार गरेको छ । उक्त मेडिकल कलेजमा ५० विद्यार्थीहरुले एमबीबीएस अध्ययन गरिरहेका छन् ।

यस्तै लुम्बिनी मेडिकल कलेजकै सहायक अस्पताल लुम्बिनी इन्टरनेशनल अस्पतालमा पनि लगानी गर्ने भएको छ । अस्पताललाई आवश्यक पर्ने कर्जाको निकासीको जिम्मेवारी नै लुम्बिनी मेडिकल कलेजले लिएको छ । लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले ६० करोड ८० लाख बराबरको दीर्घकालीन तथा अलपकालीन कर्जा लिएको छ । उक्त कर्जा कलेजले निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी अन्तराष्ट्रिय अस्पतालमा लगानी गर्ने देखिन्छ ।

रेटिङ एजेन्सी इक्राका अनुसार सन् २०२२ मा लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालले १ अर्ब ५७ करोड सञ्चालन आम्दानी गरेको छ । आम्दानीमा वृद्धि भएता पनि डिप्रिसियसन, अर्मोटाइजेसन, ब्याज र कर अघिको नाफामा कमी आएको छ । सन् २०२१ मा कुल सञ्चालन आम्दानीको १७ प्रतिशत रहेको सो नाफा सन् २०२२मा घटेर ११ प्रतिशत मात्रै रहेको छ ।

नाफामा आएको कमीसँगै अन्य वित्तीय सूचांकहरु पनि कमजोर देखिँदा रेटिङ एजेन्सी इक्राले यस अघि गरेको रेटिङ घटाएको छ । इक्राले दीर्घकालीन कर्जाका लागि यस अघि डबल बी प्लस रेटिङ गरेको थियो भने अहिले रेटिङ घटाएर ट्रिपल बी गरेको छ भने अल्पकालीन कर्जाका लागि यस अघि गरेको ए४ प्लस रेटिङ घटाएर ए३ प्लस गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: ४ माघ २०७९, बुधबार  १२ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।