चीनसँगको आर्थिक सम्बन्ध पुनस्थापित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोभिडयता कमजोर बन्दै गइरहेको चीनसँगको आर्थिक तथा व्यापारिक सम्बन्धलाई पुनस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चीन उद्योग वाणिज्य संघका अध्यक्ष त्रिभुवनधर तुलाधरको अध्यक्षतामा गएको संघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले चीनबाट नेपालमा अधिक संख्यामा पर्यटक भित्र्याउने तथा लगानी र व्यापारिक सम्बन्ध विस्तार सरकारको प्राथमिकतामा रहेको बताए । कोभिड महामारीपछि चीनले बाह्य मुलुकसँगको सिधा उडान र व्यापारिक सम्बन्ध सुचारु गरिसकेको उल्लेख गर्दै त्यसबाट नेपालले लाभ लिनसक्ने वातावरण निर्माणका लागि पहल गर्ने उनको भनाई छ ।

भेटमा संघको प्रतिनिधिमण्डलले नेपाल र चीनबीचको आर्थिक सम्बन्ध विस्तार गर्नुपर्ने तथा यसका लागि सरकारले पहल गर्नुपर्ने विषयमा विभिन्न सुझाव दिएको छ । संघका अध्यक्ष तुलाधरले चीनसँगको स्थल नाका पूर्ण क्षमतामा सञ्चालनमा ल्याइनुपर्ने तथा वस्तु आयातसँगै पर्यटकका लागि पनि नाका खुला गर्ने सम्बन्धमा सरकारले चिनियाँ पक्षलाई सहमत गराउनुपर्ने सुझाव दिए ।

द्विपक्षीय व्यापार अभिवृद्धिमा भुक्तानीको समस्या भइरहेका कारण नेपालमा चिनियाँ बैंकको शाखा स्थापना गर्नुपर्ने तथा यसबाट व्यापार र लगानी वृद्धिमा सहयोग पुग्ने अध्यक्ष तुलाधरले प्रधानमन्त्रीसमक्ष उल्लेख गरे । चिनियाँ नागरिक नेपाल भ्रमण गर्न इच्छुक भए पनि पर्याप्त संख्यामा हवाई उडान नभएकाले चीनका विभिन्न सहरबाट काठमाडौं, पोखरा र भैरहवा विमानस्थलमा उडानको व्यवस्था गर्न संघले माग गरेको छ ।

यस्तै, चीनमा बढ्दो बुद्धमार्गीहरुको संख्यालाई लक्षित गरी लुम्बिनी भ्रमणका निमित्त सहजीकरणका कार्यक्रम ल्याउन तथा चिनियाँहरुको भ्रमण गन्तव्यका रुपमा नेपाललाई अघि सार्न सरकारले कार्यक्रम ल्याउनुपर्ने संघको माग रहेको छ ।

नेपाली वस्तुको चीनतर्फ निकासी वृद्धिका लागि भन्सार नाकामा क्वारेन्टाइन तथा दुवै मुलुकको मान्यताप्राप्त ल्याब स्थापना गर्नुपर्ने एवं भन्सार नाकामा रहेको कोटा प्रणाली हटाई पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्ने संघले प्रधानमन्त्रीसमक्ष माग राखेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ माघ २०७९, बिहिबार  १३ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।