नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वमा देखा परेका विविध समस्याले नेपाली बैंकिङ क्षेत्रको समेत चुनौति बढेको बताएका छन् । उनले विश्व बजारका कारण बढ्दो चुनौतिका कारण बैंकिङ क्षेत्र थप जिम्मेबार भएर अघि बढ्न आवश्यक रहेको औल्याएका हुन ।
गभर्नर अधिकारीले विश्व बजारमा देखिएको समस्याको रुपमा कोरोना महामारी तथा रुस युक्रेन युद्धलाई संकेत गरेका हुन । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा अधिक मागको सृजना भएको थियो भने रुस युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा आपूर्ति खुम्चिएको छ ।
कोरोनाका कारण अर्थतन्त्रलाई गति दिने अधिकासं केन्द्रीय बैंकहरुले मनि सप्लाई बढाएर ब्याजदर घटाएको अवस्था थियो । त्यसले विश्व भरीनै ‘इजी मनी’ मेकिङले प्राथकिता पायो । फलस्वरुप सम्पत्तिको मूल्य मात्र वृद्धिभयो । त्यसले मागलाई बढाएपछि मूल्यवृद्धि बढ्यो । मूल्य वृद्धि नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले ब्याजदर बढाए । ब्याजदर बढेपछि अर्थतन्त्रका गतिविधि खुम्चिन पुगे । साथै रुस युक्रेन युद्धले विश्व अर्थतन्त्रमा माग र आपूर्ति संरचनामा बाधा सृजना गरेपछि विश्व अर्थतन्त्र नै मन्दी उन्मूख रहेको अवस्था छ ।
विश्व अर्थतन्त्र मन्दी उन्मूख भएपछि त्यसको असर नेपाली बजारमा पनि पर्न गयो । बैंक वित्तीय संस्थाको ब्याजदर बढ्ने तथा मूल्यवृद्धि बढ्न थाल्यो । त्यसका सथै उच्च आयातका कारण अर्थतन्त्रको बाह्य अवस्थामा दबाब पर्न थाल्यो । त्यसलाई सन्ुतलन कायम गर्न आयातमा प्रतिवन्ध लगाउनु पर्ने अवस्था आयो । त्यसले बैंकहरुमा तरलता तथा कर्जा लगानी योग्य रकमको अभाव देखिन थाल्यो । उच्च ब्याजदरका कारण कर्जाको मागमा समेत कमी आउन थाल्यो । त्यसले समग्र अर्थतन्त्रमै असर पर्न थाल्यो ।
अर्थतन्त्रको अवस्थाबारे जानकारी दिदै गभर्नर अधिकारी बैंकहरुसंगको भेटमा थप जिम्मेबार भएर अघि बढ्न सुझाएका हुन । बिहीबार नेपाल बैंकर्स संघका नव निर्वाचित अध्यक्ष सुनिल केसीको टोलिसंग छलफल गर्दै गभर्नर अधिकारीले बैकिङ क्षेत्रले दिएका सुझावलाई केन्द्रीय बैंकले गम्भिर रुपमा लिने गरेको बताए ।
छलफलमा बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्रलाई राष्ट्र बैंकले सदैव प्रोत्साहन गरेको बताए । उनले राष्ट्रबैंकले लिएको लक्ष्य र नीति प्रति बैंकिङ क्षेत्र प्रतिबद्ध रहेको बताए । वित्तीय स्थायीत्वका लागि बैंकिङ क्षेत्रको पूर्ण सहयोग हुने समेत उनले बताएका छन् । छलफलमा केसीले संघले अनुसन्धान, वित्तीय साक्षरता, बैंकिङ क्षेत्रको जनशक्तीको वृद्धि विकास लगायतका विषयमा केन्द्रित भएर काम गर्ने योजना रहेको समेत जानकारी गराएका थिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया