बैंकहरुले घटाए रिपो रेट, नीतिगत अडानमा राष्ट्र बैंक

0
Shares

बैंक तथा वित्तीय संस्थाहरुले तरलताको अवस्था नकारात्मक हुदाँपनि रिपो रेटमा मोलमोलाई गरेका छन् । बैंक/वित्तीय संस्थाले दैनिक तरलता सुविधाको मद्दतमा रिपोमा महंगो ब्याजदर तिर्न नखोजेका हुन ।

नेपाल राष्ट्र बैंकले पनि बैंक वित्तीय संस्थालाई रिपो बिक्री गर्दा नीतिगत दर ७ प्रतिशत भन्दा तल नआउने अडान लिएको छ । ब्याजदरमा अनावश्यक उतारचढाव आउन नदिन नीतिगत दरको अडान लिएको राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए ।

“बैंकहरु नीतिगत दरमा भन्दा घटेर ब्याजदर अफर गरेपछि निष्कासन गरेको सबै बिक्री नगरेको हो,”ती अधिकारीले भने,“बैंक वित्तीय संस्थाले अफर गरेको ब्याजदरमा रिपो दिएको खण्डमा ब्याजदरमा अस्वभाविक उतारचढाव आउने भएकाले नीतिगत दर भन्दा तल अफर गरेको ब्याजदरमा रिपो बिक्री नगरिएको हो ।”

केन्द्रीय बैंकले आगामी सोमबार ट्रेजरी बिल्स निकाष्सन हुने भएकाले पनि प्रणालीमा तरलता प्रवाह गर्नका लागि १० अर्बको रिपो बिक्री गर्न खोजेको थियो । बैंकहरुले तरलता व्यवस्थापनका लागि एक दिने दैनिक तरलता सुविधा उपभोग गरेका छन् । त्यसले गर्दा पनि बैंकहरुले ब्याजदरमा मोलमोलाई गरेको हुन सक्ने राष्ट्र बैंकका ती अधिकारीको भनाई छ ।

बिहीबार १० अर्बको रिपो बोलकबोल भएको थियो । त्यसका लागि १० अर्ब ८० करोड रुपैयाँ बरावरको माग आवेदन परेको थियो ।

तर, ब्याजदर न्यून भएपछि केन्द्रीय बैंकले नीतिगत दरको हाराहारीमा ब्याजदर आफर गर्नेलाई मात्र ३ अर्ब ८० करोड रुपैयाँ बरावरको रिपो बिक्री गरेको छ ।

बिहीबार वित्तीय प्रणालीमा ३ अर्ब ५० करोड रुपैयाँ तरलता नकारात्मक रहको छ । केन्द्रीय बैंकले सो नकारात्मक अवस्थालाई सुधार गर्न ३ अर्ब ८० करोडको बिक्री गरेको हो । त्यसका साथै यसभन्दा अघि ५० अर्बको रिपोका लागि बैंक वित्तीय संस्थाले दिएको ब्याजदर भन्दा बिहीबारको रिपोको औसत ब्याजदर पनि घटेको छ ।

बिहीबार बैंक वित्तीय संस्थाले अधिकतम ८.१४ र न्यूनतम ७.१४ प्रतिशत रहेको छ । यसको औसत ब्याजदर ७.५८६८ कायम भएको छ । यसभन्दा अघि पुस १४ गतेको रिपोको औसत ब्याजदर ८.०९९८ प्रतिशत रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: ५ माघ २०७९, बिहिबार  १९ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।