भारतबाट गहुँ आयत नहुँदा देशभरिका ८०% मैदा उद्योग बन्द हुने अवस्थामा

0
Shares

नेपाल मैदा उद्योग संघले भारत सरकारले गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदारआँटाको चरम अभाव भएको जनाएको छ । भारत सरकारले २०७९ बैशाख ३० गतेदेखि गहुँ आयतमा प्रतिबन्ध लगाएको थियो ।

मैदा/आँटा कच्चा पदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी/नान, भोजनालय, रेष्टुरेण्ट लगायत ठुला–साना सबै होटललाई माग अनुसारको मैदा/आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएकोले कसरी मैदा/आँटा उपलब्ध गराउने भनी मैदा व्यवसायी चिन्तित भएको संघले जानएको छ ।

आम उपभोक्ताको दैनिक खाद्यान्नको रुपमा चामलको सट्टा स्वस्थलाई ध्यानमा राखी रोटी खाने बानीको विकास भएकोले वहाँहरुलाई समेत प्रत्यक्ष प्रभाव पर्ने संघको भनाई छ ।

अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने बाँकी उद्योगहरु पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्थामा पुगेको संघले जनाएको छ ।

मैदा उद्योगले बजारमा मैदा/आँटा दिन सक्ने अवस्था नै छैन । योे विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिन्छ । मैदा उत्पादक संघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संघले भारत सरकारसँग कुरा गरी चाँडो भन्दा चाँडो थप गहुँ उपलब्ध गराईदिन अनुरोध गरेको छ । अहिले प्राप्त पचास हजार मेट्रिक टन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्छ, त्यस पश्चात फेरी हाहाकार मच्चिन सक्छ । नेपालमा गहुँको सिजन आउन अझ ३ महिना बाँकी छ।

गहुँ उपलब्ध भएमा यहाँका उद्योग चल्ने र सबै क्षेत्रलाई फाईदा पुग्ने हुँदा मैदा आयातको सट्टा गहुँ आयात गर्न तुरुन्त प्रक्रिया अगाडि बढाईदिन समेत नेपाल सरकार समक्ष संघले आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।