बोयर जातको बाख्रा र गाईको बजार मूल्य अनुसार बीमा गर्न नपाएको कृषकको गुनासो

0
Shares

सिरहाका कृषकहरुले बोयर जातको बाख्रा र गाईको बजार मूल्य अनुसार बीमा गर्न नपाएको कृषकको गुनासो गरेका छन् ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मधेश प्रदेशको सिरहामा आयोजित बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा सहभागी कृषकहरुले सो गुनासो गरेका हुन ।

कार्यक्रममा सहभागी कृषकहरुले बोयर जातको बाख्रा र गाईको बजार मूल्य अनुसार बीमा गर्न नपाएको, कृषि तथा पशुपन्छीको बीमा दाबी प्रक्रियाका बारेमा बीमा कम्पनीले जानकारी नदिएको, गुनासो गरेका हुन । साथै उनीहरुले बीमा कम्पनीहरुले माछाको बीमा गर्न नमानेको, बीमा दावी गरेको एक वर्षसम्म पनि दाबी भुक्तानी नपाएको लगायतका गुनासो राखेका थिए ।

बीमा कम्पनीका शाखा कार्यालयका प्रतिनिधिहरुले वास्तविक मूल्यभन्दा बढीको बीमा गर्न खोजिने गरेकाले बीमा गर्न समस्या भएको र कृषि प्राविधिकको सिफारिशका आधारमा बीमा गर्न तयार रहेको स्पष्ट पारे ।

कार्यक्रममा प्रमुख अतिथि अर्नमा गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवले बीमाप्रतिको अन्यौल हटाई टोल टोलमा खुलारुपमा बीमाका बारेमा जानकारी दिन सकेमा बीमा गर्न चाहनेहरु नै बीमा गर्न खोजी खोजी आउने बताए ।

अध्यक्ष यादवले बीमा व्यवसायमा पारदर्शिताको कमी र न्यून मूल्यांकनका कारण माछा, पशुपन्छी, घर लगायतको बीमामा गुनासो आउने गरेको उल्लेख गर्दै देशको समृद्धिका लागि हरेक व्यक्ति आर्थिकरुपले सुरक्षित हुनु अपरिहार्य भएकाले सबैले जीवन तथा निर्जीवन बीमा गर्नुपर्ने बताए ।

अर्नमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द सिंहले बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने बताए।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले गाउँपालिकाका सेवासँग आवद्ध गरेर घर, सम्पत्ति र व्यवसायको बीमालाई अनिवार्य गर्न र राहतभन्दा पनि नागरिकको बीमा गर्नका लागि कार्यक्रम ल्याउन गाउँपालिकासँग आग्रह गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।