अल्पकालिन ब्याजदर निरन्तर ओरालो लाग्दै, एकल अंक छुने प्रयासमा ट्रेजरीको डिस्काउन्ट रेट


नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता प्रवाह बढाएसँगै अल्पकालीन ब्याजदर निरन्तर ओरोलो लाग्दै आएको छ । सरकारले गत साता उठाएको आन्तरिक ऋणको डिस्काउन्ट रेट २ प्रतिशतको विन्दुले घटेकोमा यो साता पनि सामान्य अंकले घटेको हो ।

गत साताको २८ दिने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट २ प्रतिशत विन्दुले घटेको थियो । तर, माघ २३ गते सोमबार सरकारले आन्तरिक ऋण उठाउनका लागि जारी गरेको २८ दिने ट्रेजरी बिल्स केन्द्रीय बैंक आफैले खरिद गरेको छ । बैंकहरुले ब्याजदर बढी मागेपछि केन्द्रीय बैंक आफैले उक्त बिल्स खरिद गरेको हो । पछिल्लो समयमा सरकारले आन्तरिक ऋण उठाउँदा उच्च ब्याजदर तिर्नु परेपछि संघीय वित्त व्यवस्थापनमा समेत दबाब पर्दै आएको छ । त्यसलाई मध्यनजर गरेर पनि केन्द्रीय बैंक आफैले बिल्स खरिद गरेको हो ।

सोमबार केन्द्रीय बैंकले आन्तरिक ऋण उठाउन कुल २१ अर्ब १० ट्रेजरी निष्कासन गरेको थियो । त्यसमा २८ दिने २ अर्ब, ९१ दिने ७ अर्ब १० करोड, ३६४ दिने ५ अर्ब रुपैयाँ बराबरको पुरानो ट्रेजरीको नबीकरण गरेको छ । सोमबार सरकारले ७ अर्ब बरावरको १८२ दिने नयाँ बिक्री ट्रेजरी समेत बिक्री गरेको छ ।

पछिल्लो समयमा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था छ । बैंकहरुमा कर्जाको माग नहुने र सरकारी ऋणपत्रमा बैंकहरुले लगानी पनि घटाएपछि तरलता बढेको हो । त्यसका साथै प्रणालीमा केही निक्षेप पनि थपिँदै आएको छ ।

बैंक तथा वित्तीय संस्थाले दैनिक तरलता व्यवस्थापन गर्न प्रयोग गर्ने स्थायी तरलता सुविधा र ओभर नाइट रिपोमा सीमा तोकेसँगै सरकारी ऋणपत्रको लगानी घटाउन थालेका थिए । ट्रेजरीमा लगानी गरेपनि दैनिक तरलता व्यवस्थापनका लागि प्रयोग गर्न नपाउने भएपछि बैंक वित्तीय संस्थाले उच्च दरमा मोलमोलाई गर्दै आएका थिए । तर, लगानी नै ठप्प भएपछि अधिक तरलता झनै बढ्न थाले पनि सोमबार निष्कासन भएको ट्रेजरीमा बैंक तथा वित्तीय संस्थाले डिस्काउन्ट रेट घटाएर भएपनि खरिद गरेका हुन ।

सोमबार बोल भएको ९१ दिने ट्रेजरीका लागि बैंक तथा वित्तीय अधिकत १०.५४०२ र न्यूनतम ८.४५६३ प्रतिशत डिस्काउण्ट रेट माग गरेका थिए । यसमा ९१ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ९.६३९२ प्रतिशत कायम भएको केन्द्रीय बैंकले जनाएको छ । यो डिस्काउन्ट रेट गत साताको भन्दा केही धेरै हो । यसभन्दा अघि माघ १७ गते निष्कासन भएको ९१ दिने ट्रेजरी बिल्सको औसत डिस्काउन्ट रेट ९.१८७९ प्रतिशत कायम भएको थियो ।

सरकारले निष्कासन गरेको १८२ दिने ट्रेजरीका लागि बैंक तथा वित्तीय संस्थाले अधिकतम १०.६७०० र न्यूनतम ९.०१३१ प्रतिशत डिस्काउन्ट रेट माग गरेका छन् । यसको औसत डिस्काउन्ट रेट १०.२४४८ प्रतिशत कायम भएको छ । यसभन्दा अघि माघ १७ गते निष्कासन भएको १८२ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट १०.३६८४ प्रतिशत कायम भएको थियो ।

त्यसैगरी सोमबार निष्कासन भएको ३६४ दिने नयाँ ट्रेजरीका लागि बैंक वित्तीय संस्थाले अधिकतम १०.३३८९ र न्यूनतम ९.२००१ प्रतिशत माग गरेका थिए । सो ट्रेजरीको औसत डिस्काउन्ट रेट १०.०८७४ प्रतिशत कायम भएको छ । यसअघि माघ १७ गते निष्कासन भएको ३६४ दिने ट्रजरीको औसत डिस्काउन्ट रेट १०.३७१५ प्रतिशत कामय भएको थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।