इसेवा मनि ट्रान्स्फरका सिइओ कोइराला म्यानेजर अफ दि इयर २०२२ बाट सम्मानित


इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला म्यानेजर अफ दि इयर २०२२ बाट सम्मानित भएका छन् । कोइरालालाई व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले सम्मान गरेको हो ।

नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै उनलाई सम्मान गरिएको बताइएको छ ।

समारोहमा सम्बोधन गर्र्दै प्रमुख कार्यकारी अधिकृत कोइरालाले उक्त पुरस्कार इसेवा मनि ट्रान्स्फरको सञ्चालक तथा कर्मचारी, एफवान सफ्ट गु्रप र विदेशमा रहेका सम्पूर्ण नेपालीमा समर्पण गरे । उनले विदेशमा रहेका नेपालीहरूको माया र सद्भावले नै आफुहरू यस स्थानमा आइपुगेको भन्दै विशेष धन्यवाद दिएका छन् । साथै उनले इसेवा मनि ट्रान्स्फरलाई छनौट गरी पुरस्कृत गरेकोमा म्यानलाई समेत धन्वयाद ज्ञापन गरे ।

बिगत १८ वर्षदेखि रेमिट्यान्स्को क्षेत्रमा अनवरत रूपमा लागि रहेका अजेश कोइरालाले पछिल्लो समय इसेवा मनि ट्रान्स्फरको नेतृत्व गरिरहेका छन् । इसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्स्लाई जोड दिँदै आएको छ ।

विश्वका दुईसयभन्दा बढि मुलुकबाट इसेवा मनि ट्रान्स्फरमार्फत ८० प्रतिशत भन्दा बढि रेमिट्यान्स् डिजिटल रूपमा भित्रिदै आएको छ ।

तीनवर्ष अगाडी मात्र सञ्चालनमा आएको इसेवा मनि ट्रान्स्फर आफ्नो आक्रामक बजार विस्तार गर्दै अग्रणी भूमिकामा देखा पर्न थालिसकेको छ ।

डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको छ ।

त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ५० लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल भएको इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउँदै आएका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।