नबिल बैंकले सुरु गर्यो ‘नेपालका हिरोहरु’ नामक सिरिज, कठिन कामलाई सम्मान

0
Shares

नबिल बैंकले कठिन काम गरेर नेपालीहरुको लागि प्रेरणाका पात्र बनेका नेपालीहरुको सम्मानका लागि नेपालका हिरोहरु नामको सिरिज सुरु गरेको छ। अरुले पनि केही जानून् र सिकून् भन्ने उदेश्यले गत शुक्रबारदेखि बैंकले सिरिज सुरु गरेको बैंकले जनाएको छ ।

सिरिजको सुरुवातमा बैंकले सात महिनामै विश्वका १४ सर्वोच्च शिखर चढेर अद्वितीय काम गरेका निर्मल पुर्जालाई निम्त्याएको थियो। कार्यक्रममा पुर्जाले १४ शिखर चढ्दाको अनुभव साटेका थिए। सो क्रममा उनले कठिन काम गर्दा सामना गर्नुपर्ने चुनौती पनि सुनाएका थिए।

कार्यक्रममा पुर्जाले प्रेरणामूलक सम्बोधन गर्दै कठिनतम कामहरु सम्पन्न गर्दा आइपर्ने चुनौतीहरु, उनको ‘प्रोजेक्ट पोसिबल’ कार्यक्रमबारे बताएका थिए। त्यस्तै पुर्जा, शृंखला खतिवडा र बैंकर अनिल शाह समेतको प्यानेल डिस्कसन (छलफल) गरेका थिए ।

नबिल बैंकले पुर्जालाई ठूलो सफलता हात पारेको भन्दै ७ लाख रुपैयाँ नगद प्रदान गरी सम्मान समेत गरेको छ। त्यस्तै बैंकले सिरिजसँगै नेपाल पर्वतारोहण संघसँग हातेमालो गर्दै पर्वतारोहणका क्रममा ज्यान गुमाउने पर्वतारोहीका १५ बालबालिकालाई छात्रवृत्ति समेत प्रदान गर्ने भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रले लिएको लक्ष्य पूरा गर्न सबै लाग्नुपर्ने बताएका थिए। बैंकले यो सिरिजलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।