मेलम्ची खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण सुरू, ४८ घण्टासम्म धारा नखोल्न आग्रह

0
Shares

मेलम्चीको खानेपानी वितरण सञ्जालको अन्तिम परीक्षण कार्य आजदेखि सुरू भएको छ ।

आयोजना कार्यान्वयन निर्देशनालय अन्तर्गत मेलम्चीको खानेपानी वितरणका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा विच्छ्याइएका खानेपानी वितरण सञ्जालका नयाँ खानेपानी पाइपलाइनमध्ये प्रारम्भिक परीक्षण सम्पन्न भएका पाइपलाइनको आजदेखि अन्तिम परीक्षण सुरु भएको हो ।

खानेपानीको नयाँ पाइपलाइनको परीक्षणका लागि दुई दिन दुई रात अर्थात ४८ घण्टासम्म खानेपानी पाइपमा अधिक मात्रामा क्लोरिन मिसाइएको पानी राखिने हुँदा स्वास्थ्यका लागि हानिकारक हुने भएकाले प्रयोग नगर्न आयोजना कार्यान्वयन निर्देशनालयले आग्रह गरेको छ ।

यस्तै अन्तिम परिक्षणको अवधिमा कसैले धारा खोलेमा परीक्षण असफल हुने र पुनः परीक्षण गर्नुपर्ने हुँदा खानेपानीको नियमित आपूर्ति समेत अवरूद्ध हुने भएकोले परिक्षण अवधिमा धारा नखोल्न आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाका चक्रपथभित्रका अधिकांश क्षेत्रमा विच्छ्याइएका १,०१० किलोमिटर खानेपानी पाइपलाइनमध्ये प्रारम्भिक परीक्षण सम्पन्न भएका करिव ५५० किलोमिटर पाइपलाइनको चरणवद्धरूपमा परिक्षण गरिने छ । जसमा काठमाडौंका गौशाला, पुरानो बानेश्वर, सूर्यविक्रम ज्ञवाली सडक र पिंगलास्थानमा रहेका जम्मा ७०१ घरहरु रहेका छन् ।

पहिलो चरण अन्तर्गत नै यही फागुन ७ गते बालाजुको खुशीबु क्षेत्रका चौमती पुल, इन्द्रायणी मन्दिर हुँदै लिङ्क रोड, सोह्रखुट्टे, मेडिकल चोक, लिङ्क मार्ग, नर्सरी चोक र गीताञ्जली चोकका जम्मा ६९७ घरमा जडान गरिएका नयाँ खोपानी पाइपलाइनको अन्तिम परीक्षण कार्य सुरू गरिनेछ ।

यसैगरी, यही फागुन ९ गते कोटेश्वरका नरेफाँट तथा जडिबूटी चोक र फागुन १० गते गौशाला, बागमती पुल, तिलगङ्गा, एयरपोर्ट, शम्भुमार्ग र बागमती कोरिडोर क्षेत्रका घरहरूमा मेलम्चीको खानेपानी पाइपलाइनको अन्तिम परीक्षण प्रारम्भ गर्ने कार्यक्रम रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

प्रकाशित मिति: ४ फाल्गुन २०७९, बिहिबार  १६ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।