सगरमाथा जलविद्युत कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन

0
Shares

सगरमाथा जलविद्युत कम्पनीको आइपीओ भर्ने आज (फागुन ५ गते) अन्तिम दिन हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले माघ ५ गतेदेखि स्थानीयलाई जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले यसअघि विदेशमा रोजगारीमा रहेका नेपालीहरुका लागि ४ करोड ४६ लाख ८० हजार मूल्यको ४ लाख ३६ हजार ८०० कित्ता सेयर निष्काशन गरिसकेको छ । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधरणमा सेयर जारी गर्नेछ ।

स्थानीय बासिन्दाले न्यूनतम १० देखि अधिकतममा १० हजार कित्तासम्म आईपीओ खरिद माग गर्न सक्नेछन् ।

स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले सुपरमाई ए जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । ९.६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजनाको प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजारका दरले कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार ५३७ रुपैयाँ रहेको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.०४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १९.४० वर्ष रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति ३० वर्ष ७ महिना बाँकी छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज (शुक्रबार) बिहान १०:३० सम्म ७ हजार ९ सय २ आवेदन मार्फत ९ लाख १३ हजार ८ सय कित्ताका लागि आवेदन परेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।