नवलपुरबाट सफारीको अनुमति पाएसँगै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक बढे


चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र जंगल सफारीका लागि नवलपुरको अमलटारीबाट सफारीको अनुमति खुलाएसँगै पर्यटकको संख्यामा वृद्धि भएको छ ।

नवलपुरको अमलटारी क्षेत्रबाट यसअघि म्पल टाइगर र थारु भिलेज होटलले मात्रै जंगल सफारीको निकुञ्ज प्रवेशको अनुमति पाएका थिए भने अन्य स्थानीय होटल र होमस्टेले नजिकको सामुदायिक वनमा मात्रै सफारी गराउन पाउने नियम थियो ।

निकुञ्जले अमलटारीबाट टेम्पल टाइगर र थारु भिलेजबाहेक अन्य होटल व्यवसायी र होमस्टेलाई निकुञ्जभित्र जंगल सफारीको अनुमति दिएसँगै एक महिनामा ७७५ नेपाली र २०० विदेशीले निकुञ्जभित्र जंगल सफारी गरेको नवलपुर पर्यटन समितिका सचिव धनीराम गुरौले जानकारी दिए ।

उनका अनुसार निकुञ्जभित्र जंगल सफारीका लागि पश्चिम सेक्टरअन्तर्गत रजहरको कुजौली रेन्जपोस्ट र अमलटारीबाट निकुञ्ज प्रवेश गर्ने अनुमति निकुञ्ज प्रशासनले दिएको छ ।

कुजौलीबाट हरेक दिन दुई जिप र अमलटारीबाट पाँच जिपमा निकुञ्ज प्रवेश गर्न पाउने व्यवस्था छ । निकुञ्जले तोकेकै जिपबाट मात्र जंगल सफारी जान पाइन्छ । एउटा जिपमा एक पटकमा १२ जनाले सफारी गर्न सकिने र कम्तीमा एक नेचर गाइड लैजानुपर्ने व्यवस्था छ । एक जना गाइडले एक हजार पाँच सय रुपैयाँदेखि तीन सय हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन् ।

निकुञ्ज प्रवेशका लागि नेपालीले १५० रुपैयाँ, सार्क क्षेत्रका पर्यटकले १ हजार र अन्य देशका पर्यटकले २ हजार रुपैयााँ शल्क तिर्नुपर्छ । यो क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने हरेक जिपले एक पटक ५ हजार शुल्क तिर्नुपर्छ । सो शुल्क तिरेपछि हरेक जिप प्रवेश गराएबापत निकुञ्जलाई थप ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने नियम छ ।

चितवनकोे नारायणी नदी फराकिलो क्षेत्रमा फैलिएका कारण डुंगा चढेर निकुञ्ज आसपासको दृश्य अवलोकन गर्ने र नदीका चरा हेर्ने पर्यटकको संख्या पनि बढ्दै गएको सचिव गुरौले बताए ।

पर्यटकको संख्या बढ्दै गएपछि रोजगारी पनि बढ्दै गएको र निकुञ्ज प्रवेश गर्दा पैदलयात्रीले अनिवार्य दुई नेचर गाइड लैजानुपर्ने भएकाले स्थानीय तहमा रोजगारी बढेको सचिव गुरौको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।