यमनमा सहयोगका लागि संयुक्त राष्ट्रसंघद्वारा ४ अर्ब ३० करोड डलर माग


संयुक्त राष्ट्रसङ्घले युद्धग्रस्त यमनका लाखौं मानिसलाई सहयोग गर्न यस वर्ष ४ अर्ब ३० करोड अमेरिकी डलर आवश्यक पर्ने बताएको छ ।

आठ वर्षदेखि जारी गृहयुद्धका कारण तहसनहस भएको देशका एक करोड ७० लाखभन्दा बढी मानिसलाई सहयोग गर्न सहायता संस्थाहरूले उक्त रकम माग गरेका हुन् ।

यस द्वन्द्वले लाखौं मानिसको ज्यान लिइसकेको छ र अरब प्रायद्वीपको सबैभन्दा गरिब देशलाई विश्वको सबैभन्दा खराब मानवीय त्रासदीमा डुबाएको छ ।

यमन जलवायु सङ्कटको प्रभाबको अग्रपङ्क्तिमा रहेको र भीषण खडेरी र बाढीले जीवनलाई खतरामा पारेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
“विश्वव्यापी मानवीय आवश्यकताहरूले दाताहरूको सहयोगलाई पहिले कहिल्यै विस्तार नगरेका भएपनि यमनमा सहायता अभियानका लागि निरन्तर सहयोग बिना लाखौं यमनीको जीवन सन्तुलनमा नरहने र द्वन्द्व सदाका लागि अन्त्य गर्ने प्रयास अझ चुनौतीपूर्ण हुनेछ,” संयुक्त राष्ट्रसङ्घले सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

सन् २०१५ मा हुथी विद्रोहीले राजधानी साना र देशको ठूलो भूभाग आफ्नो नियन्त्रणमा लिएपछि साउदी नेतृत्वको गठबन्धनले सरकारलाई समर्थन गर्न हस्तक्षेप गरेको थियो ।

गत बर्ष अप्रिल २ मा शुरू भएको युद्धविराम गत अक्टुबरमा समाप्त भएको थियो ।  जेनेभामा सोमबार हुने दाता सम्मेलनमा भाग लिन आएका संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले अन्तर्राष्ट्रिय समुदायसँग यो सङ्कट अन्त्य गर्ने शक्ति र साधन रहेको बताएका छन् ।

“यो हाम्रो अपीललाई पूर्ण रूपमा वित्तपोषण गरेर सुरु हुन्छ र संयुक्त राष्ट्रसङ्घ चाँडै रकम वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्दछ,” उनले बताए । गत वर्ष संयुक्त राष्ट्रसङ्घले सहायता एजेन्सीहरूलाई हरेक महिना देशभरका करिब १ करोड १० लाख मानिससम्म पुग्नका लागि २.२ अर्ब अमेरिकी डलरभन्दा बढी रकम जुटाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।