दुई वर्ष पनि टिकेन दार्चुलाको सौर्यबत्ती


दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मा जडान गरिएका सौर्य बत्ती दुई वर्ष नपुग्दै बिग्रिएर थन्किएका छन् ।

गाउँपालिकाले आर्थिक वर्ष २०७४\७५ मा १४ वटा सौर्यबत्ती जडान गरेको थियो । ती बत्ती दुई वर्ष नपुग्दै बिग्रीएको मालिकार्जुन–३ का गोविन्द धामीले बताए । गाउँपालिकाको आठ लाख रुपैयाँ तथा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका १२ रुपैयाँ लाख गरी कुल २० लाख रुपैयाँको लगानीमा बत्ती जडान गरिएका हुन् । बत्ती बिग्रीदा पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् ।

सौर्य बत्तीका साथै राष्ट्रिय धाम मालिकार्जुन मन्दिर परिसर भित्र जडान गरिएका सिसी क्यामेरासमेत काम गर्न छाडेको मालिकार्जुन विकास समितिका सचिव जनकसिंह धामीले बताए । मालिकार्जुन–३ को मालिकार्जुन मन्दिर, लटिनाथ मन्दिर चौड, शिलगैर बजार क्षेत्र तथा मड र भौतडीको भण्डारी घर भएका क्षेत्रमा जडान गरिएका सबै सौर्य बत्ती बिग्रीएका छन् ।

राष्ट्रिय धाम मालिकार्जुन मन्दीर क्षेत्रमा आउने तिर्थालुको सहजताका लागि जडान गरिएका सौर्य बत्ती बिग्रीएको लामो समय हुँदासमेत मर्मतका लागि कसैले चासो नदेखाएको मालिकार्जुन मन्दिरका मुखिया धीरेन्द्रसिंह धामीले बताए ।

“धेरै सामान त चोरी समेत भएको छ”, उनले भने । सौर्य बत्ती मर्मतका लागि पटक पटक गाउँपालिकालाई आग्रह गर्दैआएको धामीले बताए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।