वर्ल्डलिंकमा बिट्रिस इन्टरनेशनल र डोल्मा इम्प्याक्टको दुई अर्ब लगानी

0
Shares

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) को १ अर्ब ९८ करोड संयुक्त लगानी प्राप्त गरेको छ ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ताबाट ८.४ मिलियन डलर अर्थात १ अर्ब ८ करोड नेपाली रुपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ६.९ मिलियन डलर अर्थात ९० करोड नेपाली रुपीयाँ बराबरको लगानी वर्ल्डलिंकले प्राप्त गरेको हो । जुन इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो लगानी हो ।

२०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात १ अर्ब ३५ करोड नेपाली रुपैयाँ बराबरको बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट लगानी कम्पनीले पाईसकेको छ । यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात ३ अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्ककै सबैभन्दा उच्च हो ।

वर्ल्डलिंक ७ लाख ५० हजार भन्दा बढी ग्राहकहरु भएको सबैभन्दा ठूलो निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी हो, जसले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी देशभर इन्टरनेट विस्तारका गतिविधिहरुलाई गति दिने कार्य गरिरहेको छ ।

वर्ल्डलिंक देशको सबैभन्दा ठूलो रोजगार प्रदायक कम्पनी पनि हो । हाल यस कम्पनीमा ५ हजार ५ सय कर्मचारीले रोजगारी पाएका छन् । बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डको लगानीले थप एक हजार रोजगारी सिर्जना गर्न र कर्मचारीहरुको सीप अभिवृद्धिका लागि तालिम प्रदान गर्न मद्दत गर्नेछ ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले पनि लगानीले सीप विकास र तालिम कार्यक्रमहरु विस्तार गर्न तथा स्वास्थ्य र सुरक्षा मापदण्डको गुणरस्तर अभिवृद्धिमा प्रगति हुने अपेक्षा गरेको छ ।

बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डद्वारा प्रदान गरिएको पुँजीले इन्टरेनेट विस्तारको गतिविधिहरुलाई गति दिनेछ । वर्ल्डलिंकले साना तथा मझौला उद्यमी तथा घरपरिवारलाई भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउनेछ । गुणस्तरीय इन्टरनेटले उद्यमहरुको विकासलाई मात्र होइन, अन्तर्राष्ट्रिय बजारसँग पनि जोड्ने बताइएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।