तरलता अभाव व्यवस्थापनमा चुक्दा विश्व कै ठूला बैंकहरु संकटग्रस्त

0
Shares

तरलता अभाव व्यवस्थापन गर्न नसक्दा पछिल्लो ११ दिनमा विश्वका ३ ठूला बैंकहरु टाट पल्टिएका छन् ।

अमेरिकाको १६ ठूलो वाणिज्य बैंक–सिलिकन भ्याली बैंक, सिंग्नेचर बैंक र स्वीजरल्यान्डको दोस्रो ठूलो क्रेडिट स्वीस बैंक समयमा तरलता व्यवस्थापन गर्न नसकेका कारण बैंकहरु टाट पल्टिएका हुन् ।

बैंकहरु टाट पल्टिएसँगै विश्वव्यापी रुपमा बैंकिङ क्षेत्र प्रभावित हुन पुगेको छ । लगानीकर्ताहरु त्रसित भई सेयर बिक्री गरिरहेका छन् । सिलिकन भ्याली र सिंग्नेचर बैंक पछि अमेरिकामा फस्ट रिपब्लिक बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको छ ।

फस्ट रिपब्लिक बैंकको बचाउमा अमेरिकाका ११ ठूला बैंकहरु लागेका छन् । जेपी मोर्गन, बैंक अफ अमेरिका, सिटीग्रुप लगायतका अन्य ११ बैंकहरुले १२० दिनका लागि बैंकमा ३० अर्ब अमेरिकी डलर निक्षेप गर्ने घोषणा गरेका छन् । जसले बैंकको तरलता अभावको समस्यालाई केही समयका लागि समाधान गर्ने छ ।

सोमबार फस्ट रिपब्लिक बैंकको सेयर मूल्य ४७ प्रतिशतले घटेको छ । विश्वव्यापी रुपमा बैंकिङ क्षेत्रमा उत्पन्न भएका समस्याहरुका कारण त्रसित बनेका लगानीकर्ताहरुले बैंकको सेयर बिक्री गरिरहेका छन् । जसकारण विश्व बैंकिङ प्रणाली मै आतंक मच्चिएको छ ।

११ बैंकहरु फस्ट रिपब्लिक बैंकको रक्षामा उत्रिएता पनि ३० अर्ब डलरको राहत प्याकेज बैंकको तरलता अभाव समस्या समाधानका लागि पर्याप्त नहुने एस एन्ड पी ग्लोबलले जनाएको छ ।

तथापि उक्त सहयोगले केही समयका लागि बैंकको अवस्थामा सुधार ल्याउने फस्ट रिपब्लिक बैंकका प्रवक्ताले बताए ।

विश्वका ठूला बैंकहरु नै टाट पल्टिदा लगानीकर्ताहरु त्रसित बनेका छन् । जसकारण बैंकहरुको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । पछिल्लो पाँच दिनमा जेपी मोर्गन बैंकको सेयर मूल्य ५.७९ प्रतिशतले ओरालो लागेको छ ।

सिटीग्रुप बैंकको सेयरमूल्यमा ७.१४ प्रतिशतको गिरावट आएको छ । यस्तै युरोपको बृहत बैंकिङ सूचांक स्टक्स ६०० पछिल्लो पाँच दिनमा ०.४२ प्रतिशतले ओरालो लागेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।