सेयर लगानीकर्ता प्रति जिम्मेबार सिद्धार्थ बैंक, मर्जरको हल्ला फैलाएर सेयर मूल्यमा चलखेल गरियो


सिद्धार्थ बैंकले धितोपत्र बजारमा सुचिकृत अन्य कम्पनीहरुलाई समेत सबक सिकाउँदै सेयर लगानीकर्ताप्रति जिम्मेबार हुनु पर्ने सन्देश दिएको छ । मर्जरको हल्ला फैलाएर सेयर मूल्य प्रभावित पार्ने काम भएपछि त्यसको स्पष्टिकरण दिदै बैंकले लगानीकर्ताप्रतिको जिम्मेबारी पुरा गरेको हो ।

धितोपत्र बजारमा बिहीबार सिद्धर्थ बैंक र एनआइसी एसिया बैंक एक आपसमा गाभ्ने/गाभिने प्रक्रियामा सुरु गरेको हल्ला फैलिएको थियो । धितोपत्र बजारका खेलाडीले सेयर मूल्यलाई नै प्रभावित पार्ने गरी मर्जरको हल्ला फैलाएपछि सिद्धार्थ बैंकले विज्ञप्ति नै जारी गरी त्यसमा सत्यता नरहेको प्रष्ट पारेको हो ।

धितोपत्र बजारमा सुचिकृत अन्य कम्पनीहरुको बारेमा पनि यस्ता खालका विविध हल्लाहरु फैलाएर सेयर मूल्य घटाउने बढाउने प्रयास विगतमा पनि नभएका होइनन । तर, सम्बन्धित कम्पनीले त्यसको सत्यताको विषयमा सेयर लगानीकर्तालाई सिद्धार्थ बैंकले जस्तो गरी स्पष्टिकरण दिएको भने देखिँदैन ।

धितोपत्र बजारमा आफ्नो कम्पनीको सेयर मूल्यमा के भैरहेको छ भन्ने सुन्दर्भमा सुचिकृत कम्पनी पनि जिम्मेबार हुनु पर्न भन्ने सन्देश समेत बैंकले दिएको छ । बैंकको यो कदमले सेयर लगानीकर्तालाई लगानीको जोखिम व्यवस्थापनमा समेत मद्दत पुगेको एक लगानीकर्ता बताउँछन । “बजारमा आएको हल्लाको विषयमा सम्बन्धित कम्पनीले पनि ख्याल गरेर सत्य तथ्य सुचना बाहार ल्याएको खण्डमा खेलाडीले लगानीकर्तालाई फसाउन सक्दैनन,” ती लगानीकर्ताले भने, “सुचिकृत कम्पनीले सिद्धार्थ बैंकले जस्तो अन्य संस्थाले पनि बजारमा आउने हल्ला सत्य भए/नभएको प्रष्टोक्ति दिएको खण्डमा एकले अर्कोलाई फस्ने फसाउने कामको अन्त्य हुने थियो ।” सिद्धार्थ बैंकले जस्तो सबै संस्थाले गर्ने हो भने स्वस्थ्य सेयर बजारको विकास हुने उनको बुझाई छ ।

सुचिकृत कम्पनीले आफुसँग सम्बन्धित सुचनाहरुको आधिकारीकताको विषयमा लगानीकर्तालाई स्पष्ट पार्नु पर्ने जिम्मेबारी हो । तर, नेपालको सन्दर्भमा सेयर बजारमा सूचीकृत कम्पनीका सम्बन्धमा आएका सुचनाको सत्यताको विषयमा बोल्ने गरेको पाइँदैन ।

बिहीबार सिद्धार्थ बैंक र एनआइसी एसिया बैंक एक आपसमा गाभ्ने/गाभिने हल्ला बजारमा चलेसँगै सिद्धार्थ बैंकको सेयर मूल्य बढ्यो भने एनआइसी एसियाको घट्यो । त्यसका साथै बिहीबार उच्च सेयर खरिद बिक्री हुने कम्पनीमा पनि यिनै दुई बैंक रहेका छन् । बिहीबार एनआईसी एशियाको सेयर मूल्य झण्डै ५.१२ प्रतिशतले घट्दा सिद्धार्थको ८.३४ प्रतिशतले बढेको थियो ।

यसरी हल्ला फैलाएर कुनै एक समुहले एनआईसी एशियाको सेयर खरिद गर्यो भने उचालिएको मुल्यमा सिद्धार्थको सेयर बिक्री गर्यो । यो दुवै किसिमको अस्वभाविक चलखेलमा सर्वसाधारण लगानीकर्ता भने शिकार बने । जुन बजारका लागि राम्रो होइन । यसरी साधारण लगानीकर्तालाई फसाउने गरी विगतमा पनि धेरै हल्ला मच्चाएर मूल्य तल माथि गराउने काम एक दिन मात्र नभई धेरै दिनसम्म हुने गरेको थियो । तर, बिहीबारको हल्लाका सन्दर्भमा भने ढिला गरेर भए पनि सिद्धार्थ बैंकले मर्जरको हल्ला निराधार रहेको भन्दै लगानीकर्तालाई प्रष्टिकरण दिएको हो । उता एनआईसी एशियाले भने यस सम्बन्धमा यो सामग्री तयार गर्दासम्म कुनै आधिकारिक सूचना सार्वजनिक गरेको छैन ।

यस अघिका मर्जर तथा लाभांशका हल्लाका घटनामा एकाध बाहेकका सम्बन्धित कम्पनीले हल्लाको खण्डन गरे पनि अधिकांश कम्पनीहरु मौन बसेका थिए । आजका दिनमा पनि हल्लालाइ सम्बन्धित कम्पनीले खण्डन गर्ने अभ्यसा छैन ।

“यस बैंक र अन्य कुनै बैंक तथा वित्तिय संस्था बीचमा मर्जर एक्विजिशन सम्बन्धी फैलाइएको समाचारतर्फ यस बैंकको ध्यानआकर्षण भएको छ । त्यस्ता समाचारहरुमा कुनै पनि आधरिकता नरहेको व्यहोर सम्पुर्ण सरोकारवालाहरुलाई जानकारीका लागि अनुरोध गराउँदछौं,” बैंकले विज्ञप्तीमा भनेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।