दाल उत्पादक सूर्य पल्स एन्ड प्रोसेसिङको आम्दानीमा गिरावट

0
Shares

रेटिङ एजेन्सी केयरनेपालका अनुसार ‘जुनेली’ ब्रान्ड नामले विभिन्न दालहरुको उत्पादन तथा बिक्री वितरण गर्ने सूर्य पल्स एन्ड प्रोसेसिङको आम्दानी सन् २०२२ मा १ अर्ब ३६ करोड ४० लाख रहेको छ ।

सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी सन् २०२२ मा ६ प्रतिशतले कारोबार घटेको छ । सन् २०२१ मा १ अर्ब ४५ करोड ६० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी सन् २०२२ मा ९ करोड २० लाखले घटेको हो ।

कम्पनीको आम्दानीमा गिरावट आएसँगै अन्य वित्तीय सूचांकमा पनि कमी आएको छ । सन् २००८ मा स्थापना भएको कम्पनीले सन् २०१३बाट मुसूरोको दाल, अष्ट्रेलियन चना, चनाको दाल, मास, मूंग, रहरको दाल, हरियो केराउ, सेतो केराउ, मकै र राज्माको उत्पादन गर्दै आएको छ । दाल तथा खाद्यान्न सामाग्रीका साथै कम्पनीले गाइवस्तुको दाना समेत उत्पादन गर्दै आएको छ ।

कम्पनीले जुनेली ब्रान्डनाममा दालहरुको बिक्री वितरण गर्छ । दालबाट नै कम्पनीले ६० प्रतिशत आम्दानी गर्ने गरेको छ । यस्तै चौपायाहरुको पौष्टिक आहार दानाको बिक्री गरि कम्पनीले ५ कुल आम्दानीको ५ प्रतिशत आर्जन गरिरहेको छ ।

यस कम्पनीमा मिन्डा परिवारको लगानी रहेको छ । सन्जय कुमार मिन्डा कम्पनीका अध्यक्ष रहेका छन् ।

कम्पनीले ९५ प्रतिशत कच्चा पदार्थ अष्ट्रेलिया, बर्मा, तान्जनिया र क्यान्डाबाट आयात गर्ने गरेको छ । अन्तराष्ट्रिय बजारमा डलर शक्तिशाली हुँदा नेपाली रुपैयाँले कमजोर प्रर्दशन गरिरहेको छ । जसकारण कच्चा पदार्थ खरिदका लागि नै कम्पनीले तुलनात्मक रुपमा धेरै रकम खर्चिदै आएको छ । जसको प्रत्यक्ष प्रभाव कम्पनीको आम्दानीमा परेको छ ।

तथापि जुनेली ब्रान्डको दाल नेपालमा प्रख्यात रहेको छ र धेरैको भान्सामा जुनेली ब्रान्डकै दाल पाक्ने गर्छ । बजारमा जुनेली दालको माग स्थीर रहँदा कम्पनीको आम्दानी आगामी समयमा बढ्ने देखिन्छ ।

कम्पनीले ९९ करोड ३३ लाख बराबरको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको छ । १ करोड ८३ लाख बराबरको दीर्घकालीन कर्जाका लागि केयरनेपालले ट्रिपल बी माइन्स रेटिङ गरेको छ भने ९७ करोड ५० करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ एजेन्सीले ए३ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।